जनता टाइम्स

१५ माघ २०८२, बिहीबार २१:३२

नायक खोज्ने भाष्य र पपुलिजमको वेभले देशलाई निकास दिँदैन :  प्रदीप ज्ञवाली


बुटवल, माघ १५ । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट नायकको खोजी भइरहे पनि कुनै नायक र पपुलिजमको वेभले मुलुकलाई निकास नदिने बताउनुभएको छ । उहाँले लोकतन्त्रविरुद्ध भइरहेका गतिविधि नियन्त्रण हुनुपर्नेमा पनि जोड दिनुभयो ।

गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका ज्ञवाली बिहीबार रूपन्देहीको बुटवल आइपुगेर यहाँ बसोबास गर्ने मतदातासँग भेटघाट तथा पत्रकारहरूसँग संवाद गर्नुभएको थियो । सो अवसरमा उहाँले अहिले भएका विकासका कामप्रति नकारात्मक धारणा सिर्जना गर्दै सपना बेच्ने र नायक खोज्ने भाष्य निर्माण भइरहेको बताउनुभयो । ‘समाजमा नायक खोज्ने भाष्य सिर्जना गरिएको छ, त्यसले मुलुकलाई निकास दिँदैन,’ उहाँले भन्नुभयो, ‘गलत भाष्य निर्माण गरेर चुनाव अल्गोरिदम खेल भइरहेको छ ।’

उहाँले समाजको वास्तविक वस्तुस्थिति एकातिर भए पनि सामाजिक सञ्जालमार्फत हावादारी प्रचार भइरहेको उल्लेख गर्नुभयो । ‘पपुलिजमको वेभले देशलाई निकास दिँदैन,’ उहाँले स्पष्ट पार्नुभयो ।

नेता ज्ञवालीले मुलुकलाई प्रयोगशाला बनाउने खेल भित्रभित्रै भइरहेको भन्दै २०८४ को निर्वाचन २०८२ मै सारेर केपी शर्मा ओलीको स्थानमा अर्को प्रधानमन्त्री बनाएर छिनभरमै नयाँ नेपाल निर्माण नहुने तर्क गर्नुभयो । ‘नेपाललाई प्रयोगशाला बनाउने खेल निरन्तर जारी छ,’ उहाँले भन्नुभयो, ‘कहिले माओवादीका नाममा, कहिले पहिचानका नाममा र कहिले नयाँ पुस्ताको नाममा ।’ यस्तो प्रयोगशाला बनाउने खेल अबको निर्वाचनबाट अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले निर्वाचनका लागि सरकारले शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउन नसकेको आरोप पनि लगाउनुभयो । ‘फरार कैदीबन्दी र लुटिएका ७ सय आधुनिक हतियार अझै बाहिरै छन्,’ उहाँले भन्नुभयो, ‘ती हतियार प्रतिकूल पार्टीविरुद्ध प्रयोग नहुने विश्वसनीय वातावरण अझै बनेको छैन ।’

हिमाली क्षेत्रमा निर्वाचनका लागि मौसम प्रतिकूल रहेको उल्लेख गर्दै उहाँले संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ढिलाइ नगरी फैसला दिनुपर्ने धारणा राख्नुभयो । ‘संवैधानिक र कानुनी हिसाबले संसद् विघटन गलत छ,’ उहाँले भन्नुभयो, ‘बहुमत सांसदले संसद् पुनःस्थापना भनेको अवस्था छ, यस्तो संवैधानिक मुद्दामा छिटो फैसला हुन आवश्यक छ ।’

गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार ज्ञवालीले आफ्नो निर्वाचन क्षेत्रका ६ वटा स्थानीय तहमा भेटघाट सम्पन्न गरेपछि बुटवल आउनु भएकाे हाे। उहाँ बुटवलपछि गुल्मेली मतदाता भेट्न काठमाडौं पुग्ने तयारीमा रहेको उहाँका निजी सचिव खेमराज ज्ञवालीले जानकारी दिनुभयो ।