जनता टाइम्स

१५ माघ २०८२, बिहीबार २१:४५

दोलखा एमालेको आक्रामक चुनावी प्रचार योजना, विशेष निर्वाचन परिचालन संयन्त्र गठन


दोलखा, माघ १५ । नेकपा (एमाले) दोलखाले फागुन २१ गते हुने निर्वाचनमा विजयी हुने लक्ष्यसहित संगठन परिचालनलाई तीव्र बनाउँदै निर्वाचन केन्द्रित योजना निर्माण गरेको छ । एमाले दोलखाको १२औं जिल्ला कमिटी बैठकले निर्वाचन परिचालन कमिटीहरू गठन गर्दै व्यापक जनपरिचालनमा जुट्ने निर्णय गरेको हो ।

बैठकले केन्द्रीय सदस्य तथा दोलखा इन्चार्ज पार्वत गरूङको संयोजकत्वमा १ सय १ सदस्यीय विशेष निर्वाचन परिचालन संयन्त्र गठन गरेको छ । साथै जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ५१ सदस्यीय जिल्लास्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर १ का लागि धर्मेन्द्र मोक्तानको संयोजकत्वमा ३ सय ३३ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ भने सहसंयोजकको जिम्मेवारी टंक जिरेललाई दिइएको छ ।

क्षेत्र नम्बर २ का लागि बालकृष्ण शिवाकोटीको संयोजकत्वमा ३ सय ३३ सदस्यीय क्षेत्रीय परिचालन कमिटी गठन गरिएको छ । यस कमिटीको सहसंयोजकमा कृष्ण भुजेल रहनुभएको छ ।

बैठकले निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउन वडा कमिटी बैठकहरू माघ १६ देखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । साथै पालिकास्तरीय अगुवा कार्यकर्ता भेलाहरू माघ २२ गतेदेखि फागुन ४ गतेभित्र सम्पन्न गरिसक्ने कार्यतालिका तय गरिएको छ ।

एमाले दोलखाले निर्वाचनलाई लक्षित गर्दै संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने र जनसम्पर्क अभियानलाई व्यापक बनाउने रणनीति अघि सारेको पार्टी उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयाे ।