जनता टाइम्स

१६ माघ २०८२, शुक्रबार २१:२८

एमाले सचिव महेश बस्नेतको प्रश्न : निर्वाचन आयाेगमा १३६ दल दर्ता छन्, आक्रमणकाे निशानामा सधैँ एमाले नै किन ?


काठमाडौं, माघ १६ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले निर्वाचन आयोगमा १३६ वटा राजनीतिक दल दर्ता भए पनि राजनीतिक आक्रमण, घेराबन्दी र दुषप्रचारको केन्द्र सधैँ नेकपा एमाले नै बन्ने गरेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले एमालेमाथि बारम्बार प्रहार हुनु संयोग नभइ त्यसका पछाडि विविध कारण रहेको उल्लेख गर्नुभएको छ । सचिव बस्नेतका अनुसार एमाले देशकै सबैभन्दा बलियो संगठनात्मक संरचना भएको पार्टी भएकाले टोलदेखि केन्द्रसम्म जरा गाडेको शक्तिका रूपमा सबैको मुख्य निशाना बन्ने गरेको छ ।

उहाँले एमालेमा व्यक्ति होइन संगठन र विचार ठूलो हुने भन्दै अनुशासन र निष्ठामा चलेको पार्टी अवसरवादी राजनीतिलाई सहज नलाग्ने बताउनुभयो । एमालेसँग जनताको बहुदलीय जनवादको मार्गदर्शन, लोकतन्त्रभित्र समाजवाद उन्मुख अर्थनीति र लोककल्याणकारी राज्यको स्पष्ट दिशा रहेको उहाँको भनाइ छ ।

सचिव बस्नेतले राष्ट्रियता र स्वाधीनताको सवालमा एमालेले स्पष्ट अडान लिने भएकाले बाह्य स्वार्थका लागि सहज पार्टी नभएको बुझाइ बाह्य शक्तिमा व्यापक रहेको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय गौरवका ठूला आयोजना अघि बढाउने नेतृत्व एमालेले गरेको उदाहरण जनतामाझ छर्लङ्ग रहेको बताउनुभयो । बस्नेतका अनुसार बलियो नेतृत्वलाई कमजोर पारेर पार्टी कमजोर बनाउने प्रयास हुने भएकाले आक्रमण नेतृत्वतर्फ केन्द्रित हुने गरेको छ ।

उहाँले विचार फरक भए पनि ‘एमाले रोक्नु’ भन्ने साझा बिन्दुमा धेरै शक्तिहरू उभिनु नै एमालेको चुनावी तौलको संकेत भएको दाबी गर्नुभयो । स्थिर सरकार र दीर्घकालीन नीतिको एजेन्डा उठाउने पार्टी भएकाले अस्थिरताबाट फाइदा लिनेहरूलाई एमालेसँग असहजता हुने उहाँको भनाइ छ ।

सचिव बस्नेतले जनआधार बलियो भएको पार्टीविरुद्ध नै सबैभन्दा धेरै भ्रम, प्रचार र आरोप चलाइने गरेको उल्लेख गर्दै विचार, इतिहास र आन्दोलनको निरन्तरताबाट बनेको एमाले आकस्मिक रूपमा उदाएका शक्तिहरूका लागि चुनौती बनेको बताउनुभयो । ‘जब सबै प्रहार एउटै दिशातर्फ हुन्छ, त्यसको अर्थ त्यो शक्ति कमजोर होइन, प्रभावशाली छ भन्ने हो’, उहाँकाे धारणा छ ।

सचिव बस्नेतले स्थायित्व, अनुभव, राष्ट्रिय हित र विकासको निरन्तरताका लागि फाल्गुन २१ गते सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ ।