जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार २१:०८

अन्तिम समयमा नियन्त्रण गुमाउदा श्रीलंकासँग बराबरी


काठमाडौं, मंसिर १८

१३औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ लिग चरणमा नेपाल र श्रीलंकाबीचको खेल बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा बुधबार भएको आफ्नो दोस्रो खेलमा श्रीलंकाले इन्ज्युरी समयमा गोल गरेपछि नेपाल १–१ को बराबरीमा रोकिएको हो । नेपालले खेलको पहिलो हाफमा कप्तान सुजल श्रेष्ठको गोलमा अग्रता लिएको थियो । तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा जुड सुपानले फ्रिकिकमा सिधै गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

खेलको नवौँ मिनेटमा नेपालका रेजिन सुब्बाले हुलमुलमा खाली पोस्टमा हानेको बल पोस्टमाथिबाट बाहिरिएको थियो । खेलको २०औँ मिनेटमा नेपालको राम्रो प्रहार श्रीलंकाका किपरले जोगाएका थिए । नेपालको ३० औँ मिनेटको प्रहार पनि विफल भयो । त्यसको ३ मिनेटपछि श्रीलंकाका खेलाडीले अनन्त तामाङलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो ।

पेनाल्टीमा नेपालका कप्तान सुजलले गोल गर्दै अग्रता दिलाए । अभिषेकले ४३औँ मिनेटमा दिएको क्रस पासमा सुजलको हेड बल पोस्टमाथिबाट बाहिरिएको थियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफको सुरुमा पहिलो हाफमा जस्तो सम्हालिएको खेल देखाउन सकेन । खेलको ४८औँ मिनेटमा रेजिन सुब्बाले राम्रो अवसर खेर फाले । खेलको ८४औं मिनेटमा अनन्त तामाङले गरेको हेड श्रीलंकाको पोस्टको नजिकैबाट बाहिरिएपछि नेपालले २–० गोलको अग्रता बनाउने अवसर गुमाएको थियो ।

राउन्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स रहेका छन् । पहिलो खेलमा भुटानलाई ४–० ले हराएको नेपालको बराबरीसँगै ४ अंक भएको छ । भुटानको २ खेलमा ३ अंक छ । माल्दिभ्स र श्रीलंकाको २–२ अंक छ भने बंगलादेशको १ अंक छ ।