जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार १०:३४

उसुमा निमालाई स्वर्ण पदक


काठमाडौं, मंसिर १९

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा निमा घर्तिमगरले उसुको नानछ्वान अलराउन्डबाट स्वर्ण जितेकी छिन् । यो सँगै जारी सागमा नेपालको स्वर्ण सख्या ३० पुगेको छ । सर्वाधिक स्वर्ण जित्ने किर्तिमान बराबरी बनाउन अब एक स्वर्ण आवश्यक छ ।

पहिलो राउन्डमा ९.१३ अंक जोडेकी निमाले बिहीबार भएको दोस्रो राउन्डमा ९.६० अंक ल्याइन् । उनले समग्रमा १८.९१ अंक प्राप्त गरेर स्वर्ण जित्न सफल भएकी हुन् । यो स्पर्धामा बंगलादेशकी मोरजिना अख्तरले रजत र श्रीलंकाकी सन्जु कुमारीले कास्य पदक जितिन् ।

योसँगै निमाले सागमा लगातार दुई स्वर्ण जित्न सफल भएकी छन् । उसुबाट सागमा लगातार दुई स्वर्ण जित्ने निमा पहिलो खेलाडी बनिन् । निमाले भारतमा भएको १२औं सागमा पनि स्वर्ण जितेकी थिइन् । त्यो नेपालले जितेको तीन स्वर्ण मध्ये एक थियो ।