जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार १०:४५

कमजोर भुटानविरुद्ध टि–ट्वान्टी क्रिकेटमा नेपालको किर्तिमानी रन


काठमाडौं, मंसिर १९

कप्तान ज्ञानेन्द्र मल्लले १०७ रन बनाएपछि नेपालले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाएको छ । १३‌ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत कमजोर भुटानविरुद्धको खेलमा नेपाली टोलीले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको हो ।

यसअघि नेपालको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर मलेशियाविरुद्ध गएको जुलाईमा बनाएको १७३ रन थियो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मल्लले ५५ बलमा १०७ रन बनाए जुन नेपाली खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर हो । यसअघि पारस खड्काले सिङ्गापुरविरुद्ध बनाएको नटआउट एक सय रन नेपाली खेलाडीको एक मात्र शतक र उच्च स्कोर रहेको थियो ।

खड्काले राजीनामा दिएपछि कप्तान बनाइएका मल्लले राम्रो ब्याटिङ गर्न सकेका थिएनन् । तर कीर्तिपुर मैदानमा कमजोर भुटानसँग मल्लले सानदार ब्याटिङ गरे । मल्लसँगै आएका प्रारम्भिक ब्याट्स्म्यान खड्काले २८ बलमा नौ चौका र एक छक्काको सहयोगमा ५७ बनाए । यो खड्काको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट चौथो अर्धशतक हो ।

खड्का आउट भएपछि मल्लले आक्रमण ब्याटिङ गरे र २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर अर्धशतक पूरा गरे । उनले १७.४ ओभरमा ५३ बलमा शतक बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ४५ रन बनाए । यस्तै रोहित पौडेल ६ रनमा आउट हुँदा आरिफ शेख ४ रनमा अविजित रहे ।