जनता टाइम्स

२२ माघ २०८२, बिहीबार १५:२४

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच दुई घण्टा वार्ता, के–के भए खास कुराकानी ?


काठमाडौं, माघ २२ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच आज बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्री कार्की र निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीबीच भएको भेटवार्ताको विवरण गोप्य राखिएको छ । उहाँहरूहरूबीच के कुरा भयो भन्ने पनि खुलाइएको छैन । पछिल्लो समय एमाले नेताहरू सरकारले चुनाव गराउनेमा सशंकित देखिएका छन् ।

बुधबार मात्र एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले सरकारले चुनाव नगराउने बहाना खोजिरहेको बताउनु भएको थियो भने अध्यक्ष ओलीले पनि सरकार चुनाव दुई चरणमा गराएर सेना र प्रहरीको ब्यारेकमा मतपत्र राख्ने योजनामा रहेको बताउनु भएको थियो । आजको भेटमा निर्वाचनकै बिषयमा केन्द्रित रहेर कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।

छलफलको क्रममा अध्यक्ष ओलीले फागुन २१ को निर्वाचन निष्पक्ष हुनेमा प्रश्न समेत उठाउनु भएको छ । भेटमा ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षा चुनौती यथावत् रहेको तथ्य औंल्याउनु भएको छ ।

ओलीसँगको छलफलमा प्रधानमन्त्री कार्कीले भने निर्वाचनका लागि बुधबारदेखि ८० हजार सेना खटिइसकेको बताउँदै अब सुरक्षामा कुनै कमीकमजोरी नहुने जानकारी दिनुभएको छ । यसैगरी ओलीले निर्वाचन सार्ने विषयमा प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्तिबारे पनि चासो राख्नुभएको छ ।

जवाफमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा हिमपात भएमा सर्न सक्ने बताएको र सर्छ नै नभनेको प्रष्टिकरण दिनुभएको छ । यस्तै प्रधानमन्त्रीले मतदाता, उम्मेदवार र कर्मचारीको सुरक्षामा कुनै कसर नराखिने बताउनु भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न ओली नेता विष्णु रिमाललाई साथमा लिएर बालुवाटार पुग्नुभएको थियो । उहाँहरूबिहान साढे १० बजेदेखि करिब दुई घण्टा छलफल भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।