जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार १२:४८

८२ वर्षमा सम्बन्ध विच्छेद, यस्तो छ कारण


अर्घाखाँची, मंसिर १९ । जिल्ला अदालत अर्घाखाँचीमा बुधबार ८२ वर्षीय वृद्धले सम्बन्ध विच्छेद गरेका छन । भुमिकास्थान नगरपालिका ७ नुवाकोट कवेली पोखरा निवासी ८२ वर्षीय ईश्वरीप्रसाद खनालले आफ्नी ५३ वर्षीय श्रीमती कमला खनालसँग सम्बन्ध विच्छेद गर्नुभएको हो ।

२०५६ सालको असार १७ गते खनालले हालको पाणिनि गाउँपालिका साविकको पाली गाविस निवासी कमला आचार्यसँग दोस्रो विवाह गर्नुभएको थियो । जेठी श्रीमतीबाट छोरा नभएको भन्दै खनालले दोस्रो श्रीमती कमलालाई भित्र्याउनु भएको थियो । झण्डै दुई वर्षसम्म सन्तान नजन्मेपछि उनी माइतैमा बस्दै आएकी थिइन । सन्तान नजन्मिएकै कारण २० वर्षपछि ईश्वरीप्रसाद र कमलाको सम्बन्ध विच्छेद भएको हो ।
लामो समयसम्म सँगै नबसेका दिदी भिनाजुलाई पछिका कार्य गर्न सजिलो होस् भनेर सम्बन्ध विच्छेद गरेको कमलाकी बहिनी विमलाले जानकारी दिनुभयो ।

पछिल्लो समय सम्बन्ध बिच्छेदको घटनामा निकै बढोत्तरी हुन थालेको छ । खनालले यो उमेरमा आएर सम्बन्ध बिच्छेद गर्नुभएको छ । यस्तै, छत्रदेव गाउँपालिका ४ केरुंगा निवासी ६५ वर्षीय जगलाल न्यौपानेले यही सोमबार आफ्नी ३८ वर्षीय श्रीमती तुलसा न्यौपानेसँग सम्बन्ध विच्छेद गर्नुभएको थियो । २०५६ सालमा मागी विवाह गरेका उहाँहरुको २० वर्षीय एक छोरा छन । विवाह भएको २० वर्षपछि उहाँहरुले जिल्ला अदालतमा सम्बन्ध विच्छेद गरेको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताउनु भयो । खनाल र न्यौपाने मात्र हैनन, अर्घाखाँचीमा सम्बन्ध विच्छेद गर्नेको संख्या निकै बढिरहेको छ ।

यस आर्थिक वर्ष अर्थात् साउनदेखि यता ५४ जोडीले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरेका छन । दुई वर्षको अवधिमा ३४ सम्बन्ध विच्छेदका मुद्धा फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी गैरेको भनाइ छ । सम्बन्ध विच्छेद गर्नेमा ८० प्रतिशतभन्दा बढी ३० वर्ष मुनीका रहेका छन् । अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्धामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका रहेका छन् । गत आर्थिक वर्षमा जिल्ला अदालत अर्घाखाँचीमा १ सय ३८ वटा मुद्धा सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालतका श्रेस्तेदार गम्भीर घिमिरेले बताउनु भयो ।

अदालतमा आएका मुद्धामध्ये अधिकांश मुद्धा सम्बन्ध विच्छेदका छन । यहीे कात्तिक महिनामा मात्र १४ जोडीले सम्बन्ध विच्छेद गरेको जिल्ला अदालतका श्रेस्तेदार घिमिरेको भनाई छ । गत वर्षको भदौ १ गते देखि नयाँ कानुन आएपछि ४८ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्धा दर्ता गराएका छन् ।