जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार १६:४८

धनगढी पुगेर सिमाका विषयमा नेकपा अध्यक्ष प्रचण्डको आयो कडा टिप्पणी


धनगढी, मंसिर १९

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा विवादको निकासको लागि कूटनीतिक पहल जारी रहेको बताउनु भएको छ । उहाले कूटनीतिक र राजनीतिक रुपमा यसलाई टुंगोमा पु¥याउने बताउनु भयो ।

विहीवार धनगढीमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले निकासको लागि कूटनीतिक र राजनीतिक तवरले पहल जारी रहेको बताउनु भयो ।

‘राष्ट्रिय सहमति बनेको छ । लिम्पियाधुरा नै महाकालीको मुहान हो र महाकाली सीमा नदी हो । यसमा कुनै कन्फ्युजन छैन । सरकारले अब राजनीतिक र कूटनीतिक ढंगले तुरुन्तै पहल गरेर त्यो क्षेत्र फिर्ता ल्याउन प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने सुझाव त्यो सर्वपक्षीय छलफलले दिएको थियो । त्यो अनुसार सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्र पठाएको छ । त्यसको उत्तर आइसकेको छैन’, उहाले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले सीमा मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने बेला नआएको पनि स्पष्ट पार्नुभयो । नेता प्रचण्डले भारतीय पक्षमाथि कडा टिप्पणी भने गर्नुभएको छ । केही दिनअघि नेपालका लागि भारतीय पूर्व राजदूत श्याम शरणले कालापानी मुद्दालाई लिएर ‘नेपालका राजनीतिक दलले राजनीतिकरण गरे नेपालको लागि राम्रो हुँदैन’ भन्ने धारणालाई लक्षित गर्दै प्रचण्डले कडा टिप्पणी गर्नुभयो । ‘पहिलो कुरा उहाँले कसरी भन्नुभयो भन्ने एउटा आर्टिकल पनि आयो भन्ने मैले सुनेको छु । उहाँले ८० लाख नेपालीको कुुरा पनि गर्नु भएछ । यसलाई राजनीतिकरण गरियो भनेर मैले पनि सुने । यो कुरा बिल्कुलै जायज छैन,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘श्यामशरण जस्तो कूटनीतिक रुपले परिपक्व मानिन्थ्यो । उहाँले यो किसिमको भाषा प्रयोग गर्नु कहीँकतै शोभनीय छैन । हामीले कुनै राजनीतिकरण गर्न खोजेका छैनौं । नेपालको भूमि नेपालको हो, भनेका छौं । संवाद र राजनीतिक पहलमार्फत हल गर्ने कुरा गरेका छौं । यसलाई राजनीतिकरण भएको श्यामशरणजीले देख्नुभएको छ भने उहाँको दृष्टिदोष हो । नेपाल राष्ट्र एक छ ।’