जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार १३:०५

अभियुक्तबाटै घुस लिने दोलखाका सिडिओमाथि कार्वाही, अनुसन्धान अघि बढाउन मन्त्रालय तानियो


काठमाडौं, मंसिर २० । प्रहरी हिरासतमा रहेका अभियुक्तका परिवारबाट घुस लिएको तथ्य सार्वजनिक भएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानिएको छ । दुई भिन्न मुद्दाका तीन अभियुक्तसँग सिडिओ रिजालले बुधबार एक लाख ११ हजार रुपैयाँ घुस लिएको तथ्य शुक्रवार सार्वजनिक भएको थियो ।

घटना बिवरणअनुसार सिडिओ रिजालले एक अभियुक्तका परिवारसँग एक लाख रूपैयाँ मागेर दश हजारको मात्रै रसिद दिनुभएको थियो भने अर्का दुई अभियुक्तको परिवारबाट जनही ३५ हजार मागेर १४ हजार रूपैंयाको मात्रै रसिद दिनुभएको थियो । सो घटना बाहिरिएलगत्तै गृह मन्त्रालयले रिजालले दोलखाबाट मन्त्रालय तानेको हो । सिडिओ रिजालले घटना बाहिरिएलगत्तै बिहीबार नै रकम फिर्ता गरिसक्नुभएको छ ।

गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले घटनालाई निकै गम्भीर रुपमा लिई छानविन अघि बढाउँदै रिजाललाई दोलखाबाट हटाउने निर्णय लिनुभएको हो । ‘उहाँलाई गृह मन्त्रालय तानिएको छ, उहाँ आज नै गृह मन्त्रालय आउनुहुन्छ,’ गृहका एक अधिकारीले जनताटाइम्ससँग भने । गृहको आदेशलगत्तै रिजालले दोलखा छाडनु भएको छ । सिडिओ रिजालले दोलखाको मेलुङ–४ का कुमार लामा मोक्तानको परिवारसँग एक लखा लिएर १० हजारको रसिद दिनुभएको थियो । कुमारकी श्रीमती रेणु तामाङसँग रिजालले सो रकम लिनुभएको थियो ।

यस्तै कालिन्चोक गाउँपालिका १ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट पनि सिडिओ रिजालले जनही ३५/३५ हजार रुपैयाँ लिएर १४ हजारको रसिद दिनुभएको थियो ।