चरिकोट, फागुन ११ । दोलखाका पुराना र प्रभावशाली नेता शिवप्रसाद भण्डारी नेकपा एमालेमै फर्कनुभएको छ । एमाले दोलखाका इञ्चार्ज पार्वत गुरुङको विशेष पहल र केन्द्रीय सदस्य आनन्दप्रसाद पोखरेलको आग्रह स्वीकार गर्दै भण्डारी आफैले नेतृत्व गरेको पार्टी एमालेमा आजबाट औपचारिक रूपमा फर्कनुभएको हो ।
चरिकोटस्थित जिल्ला पार्टी कार्यालयमा सोमवार नेता भण्डारी फागुन २१ गते हुने निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङको जीत नै दोलखाली जनताको हित रहेको निष्कर्षसहित पुराना र नयाँ सबै टिमसहित एमाले फर्कनुभयो । भण्डारीलाई एमालेमै फर्किएर घर सम्हाल्न एमाले नेता पार्वतले लामो समयदेखि प्रयास गर्दै आउनु भएको थियो ।
भण्डारी दोलखा जिल्लाको राजनीतिक इतिहासमा नैतिकता, त्याग र प्रतिबद्धताको उदाहरणका रूपमा चिनिने व्यक्ति हुनुहुन्छ । भूमिगत कालदेखि नै कम्युनिस्ट आन्दोलनमा समर्पित रहँदै उहाँले विचार, सिद्धान्त र संगठनप्रति अदम्य निष्ठा प्रस्तुत गर्नुभएको छ ।
उहाँको राजनीतिक यात्रा नेकपा (माले) हुँदै नेकपा (एमाले) सम्म आइपुग्दा संगठन निर्माण, कार्यकर्ता उत्पादन र अनुशासन कायम गर्ने दृढ व्यक्तित्वका रूपमा स्थापित भएको छ । जिल्ला प्रमुख तथा तत्कालीन जिल्ला सचिवका रूपमा दुई कार्यकाल नेतृत्व सम्हाल्दा उहाँले पार्टीलाई वैचारिक स्पष्टता र संगठनात्मक मजबुती प्रदान गर्नुभएको थियो ।
जिल्ला विकास समिति (जिविस) उपसभापतिको जिम्मेवारी निर्वाह गर्दा पनि उहाँले विकासलाई पारदर्शिता र जनउत्तरदायित्वसँग जोड्नुभएको थियो । सभापति लालकुमार केसी र उपसभापति भण्डारीले २०५४ सालमा जिविसमा रहेर ५ वर्ष काम गर्दा दोलखाको विकासको रोडम्याप ल्याउनु भएको हो । एमालेको केन्द्रीय अनुशासन आयोगको सदस्यको रूपमा रहेको बेला माधव नेपालले पार्टी विभाजन गरेपछि भण्डारी नेकपा समाजवादी नेताका नेताका रूपमा सक्रिय रहनुभएको थियो ।
राजनीतिमा उतारचढाव स्वाभाविक भए पनि भण्डारीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विचार र संगठनलाई केन्द्रमा राख्दै आउनु भएको छ । उहाँले कहिल्यै पदलाई प्रतिष्ठाको साधन बनाउनु भएन,बरु जिम्मेवारीलाई सेवा र संघर्षको माध्यमका रूपमा लिनुभयो ।
अहिले पुनः मिलनको खबरले दोलखाली जनतामाझ आशा, उत्साह र सकारात्मक सन्देश प्रवाह गरेको छ । यो केवल एक व्यक्तिको पुनरागमन मात्र नभई मूल्य–मान्यतामा आधारित राजनीतिक संस्कृतिको पुनर्स्थापनाको सङ्केत पनि रहेको दोलखालीको भनाई छ । एमालेमा उहाँको पुनः सक्रिय उपस्थिति दोलखाको राजनीतिमा स्थिरता, एकता र सिद्धान्तप्रति प्रतिबद्धताको नयाँ अध्याय बन्ने विश्वास मतदाताले गरेका छन् ।
भण्डारीको आगमनसँगै दोलखाली जनतामाझ स्वच्छ छवि, विकासप्रतिको प्रतिबद्धता र स्पष्ट विचार बोकेका पार्वत गुरुङलाई अब संगठनात्मक एकता र वरिष्ठ नेताको मार्गदर्शनले थप बल मिलेको छ भने जीत सुनिश्चित बनेको छ । राजनीतिमा एकता, अनुशासन र सिद्धान्तको संगम हुँदा परिणाम स्वतः सकारात्मक हुने विश्वासका साथ दोलखामा उत्साहको लहर देखिएको छ । यसले आगामी निर्वाचनमा एमालेको पक्षमा परिणाम आउने स्पष्ट वातावरण बनेको छ ।














प्रतिक्रिया दिनुहोस्