जनता टाइम्स

१५ फाल्गुन २०८२, शुक्रबार १०:५६

एमाले घोषणापत्र : समृद्धिको आधार र राष्ट्रिय आत्मनिर्भरताको यात्रा


निष्कर्षमा भन्दा यो निर्वाचन सकारात्मक सोचसहित देशको विकास, निर्माण र प्रगतिको पक्षलाई स्थापित गर्दै नकारात्मकता र विनाश एवं विध्वंशको पक्षलाई पराजित गर्ने निर्वाचन हो । यो निर्वाचन नेपाली मतदाताले नेकपा एमालेलाई बहुमत प्रदान गरेर जिम्मेवार सरकार सञ्चालनको जिम्मेवारी प्रदान गर्ने निर्वाचन हो ।

नन्दु उप्रेती

निर्वाचनको  दिन धेरै नजिक आइसक्यो । फागुन २१ गते हुन गइरहेको संघीय संसद्को यही निर्वाचनले नेपाली राजनीतिको एउटा नयाँ मोडको सङ्केत गरेको छ। आसन्न आम निर्वाचनमा देशले राजनीतिक स्थिरता र आर्थिक समृद्धि र विकासको बहसलाई केन्द्रमा राखेको छ। यसै सन्दर्भमा नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने संकल्पसहित आफ्नो चुनावी घोषणापत्रमा राष्ट्रिय अर्थतन्त्रलाई चालीस खर्बबाट बढाएर दस वर्षभित्र दुई सय खर्ब पुर्याउने आत्मविश्वासी लक्ष्य अघि सारेको छ । पार्टीले आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने  लक्ष्य राखेको छ।

घोषणापत्रमा युवालाई मासिक १० जीबी निःशुल्क डाटा, स्टार्टअपका लागि १० हजार डलरको कार्ड र विद्यार्थीलाई २० लाखसम्मको निर्व्याजी ऋण दिने उल्लेख गरिएको छ। त्यस्तै, सुत्केरी पोषण भत्ता २० हजार पुर्‍याउने, विपन्नको २५ हजारसम्मको ऋण मिनाहा गर्ने, रेल–मेट्रो सञ्चालन गर्ने र डिजिटल सुशासन कायम गर्ने प्रतिबद्धता जनाउँदै एमालेले राजनीतिक स्थिरताका लागि बहुमतको माग गरेको छ।

यो घोषणापत्र केवल संख्यात्मक वृद्धिको कथानक मात्र प्रस्तुत गरेको होइन, यसले नेपाली जनताको जीवनस्तरमा ठोस परिवर्तनको एउटा खाका प्रस्तुत गरेको छ जसको केन्द्रमा छन्—युवा, महिला, किसान र निम्न आय भएका परिवारहरू ।

ऐतिहासिक योगदान र जनताको विश्वास

नेकपा एमाले नेपालको राजनीतिमा एउटा यस्तो पार्टीका रूपमा उभिएको छ, जसले प्रजातान्त्र, लोकतान्त्र तथा गणतन्त्रको स्थापना र संविधानको कार्यान्वयन एवं रक्षाका लागि लामो सङ्घर्ष गरेको छ। पार्टीले गणतन्त्र विरोधी गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै संविधान र यसले सुनिश्चित गरेको समावेशी लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता दोहोर्याएको छ । एमाले नेतृत्वको पछिल्लो सरकारको एक वर्षे अवधिलाई सन्तोषजनक, सफल र प्रभावकारी रहेको ठहर गरेको छ । सो अवधिका कामहरूले जनतामा एमालेप्रतिको विश्वास अझ विकास गराएको एमालेको निष्कर्ष छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले देश जलाउने र ध्वस्त पार्ने होइन, बनाउने काम गरेको दाबी गरेका छन् । यही सत्यलाई एमाले कार्यकर्ताले प्रत्येक नेपालीसम्म पुर्‍याइरहेका छन् । सत्तामा रहँदा ओली नेतृत्वकै सरकारले भौतिक पूर्वाधार, सामाजिक क्षेत्र र अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेखनीय प्रगति हासिल गरेको तथ्यहरूले पुष्टि गर्छ । विपक्षमा रहँदा पनि पार्टीले रचनात्मक भूमिका निर्वाह गर्दै सरकारलाई जनमुखी बनाउन दबाब सिर्जना गरेको इतिहास छ।

घोषणापत्रको मेरुदण्ड : २५ स्तम्भ र पाँच आधार

नेकपा एमालेको घोषणापत्र ‘समृद्धिका २५ स्तम्भ’ र ‘पाँच आधारभूत प्रतिबद्धता’ मा केन्द्रित छ। ‘एमाले बनाउँछ’ भन्ने मूल नारासहित आएको यो घोषणापत्रले मुलुकको आर्थिक रूपान्तरण, घरेलु रोजगारी सिर्जना, सामाजिक सुरक्षा विस्तार र डिजिटल पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

आर्थिक वृद्धिको लक्ष्य ७ देखि ९ प्रतिशत राखिएको छ । पाँच वर्षभित्र एक सय खर्ब र दश वर्षभित्र दुई सय खर्ब रुपियाँको अर्थतन्त्र निर्माण गर्ने आत्मविश्वासी योजना सार्वजनिक गरिएको छ । यो लक्ष्य हासिल गर्न कृषि उत्पादन, जलविद्युत्, खनिज पदार्थको उत्खनन, सूचना प्रविधि र भौतिक पूर्वाधारको विकासलाई तीव्रता दिइने उल्लेख छ। विशेषगरी दैलेखमा रहेको प्राकृतिक ग्यास र फलाम खानीलाई व्यावसायिक उत्पादनमा ल्याउने योजना पार्टीको मुख्य प्राथमिकतामा परेको छ ।

युवा, रोजगारी र उद्यमशीलता

नेकपा एमालेले पाँच वर्षभित्र दस लाख युवालाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। प्रत्येक वर्ष पाँच लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यसहित, वैदेशिक रोजगारीमा जान बाध्य नेपाली युवालाई स्वदेशमै आकर्षित गर्ने वातावरण बनाइने छ । यसका लागि आधुनिकीकृत कृषि, खाद्य प्रशोधन उद्योग, पूर्वाधार विकास र हरित उद्योगमा लगानी केन्द्रित गरिने छ ।

युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न सूचना प्रविधि र स्टार्टअपमा संलग्न युवालाई अन्तर्राष्ट्रिय कारोबारका लागि १० हजार डलरको कार्ड उपलब्ध गराउने योजना छ भने १८ देखि २८ वर्षका युवालाई नि:शुल्क १० जीबी मोबाइल डेटा प्रदान गरिने घोषणा गरिएको छ । प्राविधिक उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूले २० लाख रुपियाँसम्मको शून्य ब्याजमा ऋण पाउने व्यवस्था गरिने छ । यसले नेपाललाई डिजिटल अर्थतन्त्र र मानव पुँजीको हब बनाउने दीर्घकालीन सोचलाई प्रतिबिम्बित गर्दछ ।

महिला सशक्तीकरण र सामाजिक न्याय

घोषणापत्रको अर्को महत्वपूर्ण पाटो महिला सशक्तीकरण र सामाजिक न्यायसँग जोडिएको छ। नयाँ आमाहरूले प्रति बच्चा २० हजार रुपियाँ पोषण भत्ता पाउने छन् । गर्भवती महिलाका लागि पाँच लाख रुपियाँसम्मको नि:शुल्क जीवन बीमा, स्वास्थ्य जाँच र यातायात भत्तामा दोब्बर वृद्धि गरिने प्रतिबद्धता जनाइएको छ ।

महिला उद्यमीहरूले २० लाख रुपियाँसम्मको ब्याजरहित ऋण पाउने छन् भने स्कुले छात्राहरूलाई नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराइने छ । न्यून आय भएका परिवारका सहकारी तथा वित्तीय संस्थाको २५ हजार रुपियाँसम्मको ऋण मिनाहा गरिने र तिनलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गरिने कार्यक्रमले समाजका विपन्न वर्गलाई सुरक्षा जालोमा ल्याउने लक्ष्य राखेको छ ।

भौतिक पूर्वाधार र दिगो विकास

नेकपा एमालेले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग र मेट्रो रेल प्रणाली विकास गर्ने महत्वाकाङ्क्षी योजना अघि सारेको छ । मध्यपहाडी लोकमार्ग, कोशी–गण्डकी–कर्णाली करिडोर र हुलाकी राजमार्गलाई आर्थिक करिडोरका रूपमा विकास गरिने छ । यसले ग्रामीण अर्थतन्त्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्न मद्दत पुर्याउनेछ ।

आवासको क्षेत्रमा ‘सुरक्षित आवास, आधुनिक नगर’को अवधारणा ल्याइएको छ । भूमिहीन, सुकुम्बासी र कमजोर वर्गलाई आधारभूत सेवासहितको किफायती आवास उपलब्ध गराउन ‘नागरिक आवास कोष’ को स्थापना गरिने छ । उप–महानगर र महानगरीय क्षेत्रलाई वित्तीय, औद्योगिक, व्यावसायिक, शैक्षिक र स्वास्थ्य केन्द्रका रूपमा विकास गरी तिनलाई ‘मेगा सिटी’मा रूपान्तरण गर्ने योजना छ ।

परराष्ट्र नीति र कूटनीतिक सामर्थ्य

नेकपा एमालेको विदेश नीति ‘सबै मित्र, कसैसँग शत्रुता नभएको’ सन्तुलित सिद्धान्तमा आधारित छ । घोषणापत्रले गैरआवासीय नेपालीहरूलाई सद्भावना राजदूतका रूपमा मान्यता दिँदै राष्ट्र निर्माणमा उनीहरूको योगदानलाई संस्थागत गर्ने प्रतिबद्धता जनाएको छ ।

छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई अझ सुमधुर बनाउँदै ऊर्जा व्यापार, जलस्रोतको विकास र पारवहन सुविधालाई विस्तार गर्ने रणनीति पार्टीले लिएको छ । प्राकृतिक स्रोतको उत्खनन र ऊर्जा निर्यातलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउन कूटनीतिक पहललाई तीव्रता दिइने छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कूटनीतिक क्षमतालाई अन्तर्राष्ट्रिय जगतमा समेत उच्च मूल्याङ्कन गरिन्छ, जसले नेपाललाई विश्व मञ्चमा सशक्त रूपमा उभ्याउन सहयोग पुर्याएको छ।

चुनौती र अपेक्षा 

नेपालको निर्वाचन प्रणालीले कुनै एक पार्टीलाई स्पष्ट बहुमत दिन सक्ने अवस्था कमजोर छ, तर नेकपा एमालेले आफ्नो विगतको उपलब्धि र भविष्यको दूरदर्शी योजनाका कारण जनताको विश्वास जित्न सफल हुने देखिन्छ। आगामी निर्वाचनमा नेपाली मतदाताले ठोस काम गरेको, विकास निर्माणमा योगदान पुर्याएको र राष्ट्रियता र स्वाभिमानका पक्षमा दृढ अडान लिने पार्टीको खोजी गरिरहेका छन् । नेकपा एमालेले आफ्नो २५- बुँदे समृद्धि योजना र राष्ट्रिय आत्मनिर्भरताको अभियानले ती अपेक्षालाई सम्बोधन गरेको छ । विगतमा एमाले सरकार र पार्टीले लिएका नीति र गरेका कामले नेकपा एमाले नै नेपाल र नेपालीको उज्ज्वल भविष्यको संवाहक हो भन्ने घामजस्तै छर्लङ्ग देखाएको छ ।

राजनीतिक अस्थिरता र नेतृत्वको कमजोरीका कारण मुलुकले ठूलो मूल्य चुकाइरहेको जुनसुकै अवस्थामा पनि नेकपा एमालेले स्थिर सरकार र बलियो नेतृत्वको प्रत्याभूति गराएको छ। एमालेको दूरदर्शी र भर्परर्दो नेतृत्वमा देशले खनिज पदार्थको उत्खनन, ऊर्जा क्षेत्रको विस्तार र सूचना प्रविधिको विकासमा फड्को मार्न सक्ने सम्भावना प्रबल छ। फागुन २१ गते नेपाली जनताले गर्ने मतदानले यो सम्भावनालाई यथार्थमा बदल्ने पक्का छ ।  नेकपा एमालेको सन्देश स्पष्ट छ—अबको यात्रा समृद्धिको, आत्मनिर्भरताको र राष्ट्रिय गौरवको यात्रा हुनेछ।

नेकपा एमालेले घोषणापत्रमार्फत ल्याएको दृष्टिकोण र कार्यक्रमले “समृद्ध नेपाल र सुखी नेपाली”को लक्ष्य पूर्णताको बाटो देखाएको छ एकातिर भने अर्कोतिर यो निर्वाचन नेपालीहरूको असहिष्णुतायुक्त पुस्ता विभाजनको रेखा कोर्ने र पुस्तापुस्ताहरूमा आदर, प्रेम, सम्मान एवं स्नेह विकास गर्नेहरू बिचको सङ्घर्ष हो, यो निर्वाचन देश बनाउने र भत्काउने बीचको जनमत–सङ्ग्रह हो, यो निर्वाचन देश बचाउने र देश जलाउने बिचको मुद्दाको फैसला लेखिने निर्वाचन हो, यो निर्वाचन राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष हो भन्ने बुझ्न नेपाली जनतालाई आह्वान गरेको छ ।

निष्कर्षमा भन्दा यो निर्वाचन सकारात्मक सोचसहित देशको विकास, निर्माण र प्रगतिको पक्षलाई स्थापित गर्दै नकारात्मकता र विनाश एवं विध्वंशको पक्षलाई पराजित गर्ने निर्वाचन हो । यो निर्वाचन नेपाली मतदाताले नेकपा एमालेलाई बहुमत प्रदान गरेर जिम्मेवार सरकार सञ्चालनको जिम्मेवारी प्रदान गर्ने निर्वाचन हो ।