रुपन्देही, फागुन १६ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गर्नुभएको छ । देशभरका साथीहरूसँगको परामर्शपछि पहाडी शनिवार एमाले प्रवेश गर्नुभएको हो ।
पहाडीलाई नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही–२ का उम्मेदवार विष्णु पौडेल, उहाँलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र नेता लीला गिरीले खादा र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
वरिष्ठ पत्रकार र संविधानसभा सदस्यसमेत रहनुभएका पहाडीले एमाले उपाध्यक्ष विष्णु पौडेललाई विजयी बनाएर रुपन्देहीको समृद्धि तथा एमालेलाई जिताएर देशको समृद्धिलाई सघाउने निर्णयका साथ एमाले आएको बताउनु भयो । पहाडी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्षसमेत हुनुहुन्छ ।

एमाले प्रवेशपछि पहाडीले राष्ट्रिय स्वाभिमानप्रति एमालेको दृढ अडानलाई आधार मानेर पार्टी रोजेको बताउनुभयो । उहाँले एमालेमाथि भइरहेको घेराबन्दी र आक्रमणलाई लोकतन्त्र तथा गणतन्त्रमाथिको आक्रमणका रूपमा चित्रण गर्नुभयो ।
‘देश, बिचार र विकासप्रति प्रष्ट दृष्टिकोण भएको पार्टी एमाले मात्रै रहेको तथ्यले नै देखियो । यति बुझेपछि अव एमालेबाहेक विकल्प छैन भन्नेमा हाम्रो टिम पुगेको हो,’ पहाडीले भन्नुभयो । उहाँले आफू कुनै लोभ, लाभ वा लहडका आधारमा नभई स्पष्ट विचार र राजनीतिक दृष्टिकोणका आधारमा एमालेमा प्रवेश गरेको स्पष्ट पार्नुभयो ।
पहाडीसँगै नेकपा रुपन्देहीका सदस्य सरोज गौतम तथा नगर सदस्य जनक गौतम पनि एमालेमा प्रवेश गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्