जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार १९:०१

बनेपाको आइटी पार्कले अर्थमन्त्रीलाई बनायो दुःखी


बनेपा, मंसिर २१ । अर्थमन्त्री डा युवराज खतिवडाले पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज) बनेपाको आइटी पार्क जस्तै प्रयोगविहीन नबनाउन स्थानीयबासीलाई सुझाव दिनुभएको छ । पाँचखाल नगरपालिका–८ मा निर्माणाधीन सेजको आज निरीक्षण गर्दै अर्थमन्त्री खतिवडाले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले स्थानीय जनप्रतिनिधिसँग निर्माण तथा प्रयोगमा तदारुकताका साथ लाग्न आग्रह गर्नुभएको हो । ‘बजेटको कमी हुँदैन, बजेट अभावले काम रोकिँदैन, हामीले उद्योग मन्त्रालयसँग यसबारे समन्वय गरिरहेका छौं,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले भौतिक संरचना निर्माण भइसकेपछि कतिपयमा सरकारको ध्यान नजाने भएकाले आफूहरूलाई झकझकाउन पनि आग्रह गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले बनेपामा निर्माण भएको आइटी पार्क बिजोक अवस्थामा रहेकोमा भने चिन्ता ब्यक्त गर्नुभयो । ‘बनेपाको आइटी पार्क बिजोक अवस्थामा छ, अर्बौं लगानी गरियो, अहिले प्रयोगविहीन अवस्थामा छ, यो निकै दुःखलाग्दो विषय हो,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । दुई सय ५७ रोपनीमा फैलिएको आइटी पार्कमा दुई ठूला प्रशासनिक भवन, चार सुविधासम्पन्न आवासीय भवन तथा अन्य आवश्यकीय गरी नौ भवन प्रयोगविहीन अवस्थामा छन् ।

अर्थमन्त्री खतिवडाले धुलिखेलदेखि चीनतर्फको सडक विस्तार गर्ने तयारी भइरहेको उल्लेख गर्दै सडक विस्तारपछि पाँचखालको भविष्य उच्च रहेको बताउनुभयो । ‘सेजभित्र व्यवसाय गर्न सुरक्षित वातावरण आवश्यक पर्ने भएकाले विशेषगरी स्थानीय जनप्रतिनिधिले सुरक्षामा ध्यान दिनुपर्दछ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । स्थानीय उद्योगी व्यवसायीसँग छलफल गरी सेज सञ्चालन गरिने उहाँले बताउनुभयो ।

मन्त्री खतिवडाले सरकार एक्लैले सेज सञ्चालन गर्न नसक्ने भएकाले स्थानीय सरोकारवालाले व्यवसायी खोज्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजमार्गदेखि सेजसम्म जाने सडक सरकारले बनाई दिनसक्छ, यसका लागि प्रदेश सरकारसँग समन्वय गर्नेछौँ ।’ उक्त अवसरमा उहाँले निर्माण कम्पनीलाई समयसीमाभित्र सम्झौता अनुसारको भवन बनाउन निर्देशनसमेत दिनुभयो ।  चालू आवमा रु १२ करोडमा सेज आयोजनाको मुख्य भवन तथा तीन करोड रुपैयाँमा पर्खाल निर्माण भइरहेको छ । सेज निर्माणका लागि नपाको वडा नं ७ र ८ स्थित पाँँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वन गरी करिब एक हजार रोपनी जग्गामा सेजका संरचना निर्माण थालिएको ८ नंका वडाध्यक्ष पुष्कर ढकालले जानकारी गराउनुभयो ।