जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार २१:००

तत्कालिन एमालेबाट निर्वाचित वडा सदस्यको निधन


दाङ, मंसिर २१

दाङका एक वडा सदस्यको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका वडा नं ४ का वडा सदस्य पुनीराम कामीको लामो समयदेखि खुट्टाको बिरामी भएर आज बिहान ८१ वर्षका उमेरमा निधन भएको हो । उहाँ तत्कालीन नेकपा (एमाले)का तर्फबाट वडा सदस्य निर्वाचित हुनुभएको हो ।

कामी २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट शान्तिनगर – २ का वडाध्यक्षसमेत हुनुभएको थियो । सोही वडाको कजेरेटोल निवासी कामी गाउँपालिकाका विभिन्न संस्थामा क्रियाशील हुनुहुन्थ्यो । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले शोक वक्तव्य जारी गरी उहाँको निधनले समग्र गाउँपालिकालाई नै क्षति भएको बताउनुभयो ।

वडा नं ४ का वडाध्यक्ष धनबहादुर केसीले लामो समय समाजसेवी तथा जनप्रतिनिधि भएर काम गर्नुभएका कामीसंँग लामो अनुभव भएकाले उहाँको निधनले ठूलो क्षति पु¥याएको बताउनुभयो ।