जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार ११:१२

पार्टी हारको जिम्मा लिँदै एमाले उपाध्यक्ष बिष्णु पौडेलले भने–नीति, नेतृत्व र संगठन पुनर्गठनमा अग्रसरता लिन्छु


रुपन्देही, फागुन २३ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनमा हार व्यहोरेका नेकपा (एमाले) उपाध्यक्ष बिष्णु पौडेल ले मतदाताप्रति सम्मान व्यक्त गर्दै पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

पौडेलले आफ्नो फेसबुक स्ट्याटसमा लेख्नुभएको छ, ‘लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही क्षेत्र नं. २ का आदरणीय मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु। यस निर्वाचनमा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। आशा छ, तपाईले यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्नुहुनेछ र रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचांईबाट अगाडि बढाउनु हुनेछ।’

उहाँले थप्नुभएको छ, ‘निर्वाचनमा हार र जीत एउटा स्वाभाविक प्रक्रिया हो। मेरा लागि रुपन्देही र विशेष गरी क्षेत्र नं. २ को यो पवित्र माटो केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, मेरो जीवनको अभिन्न हिस्सा र कर्मभूमि हो। यो माटोको माया र यहाँका जनताको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ।’

उहाँले मतदाता र पार्टी कार्यकर्ता प्रति आभार व्यक्त गर्दै भन्नुभयो, ‘म पदमा रहूँ वा नरहूँ, रुपन्देहीको विकास, समृद्धि र यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुखदुःखमा मेरो सक्रियता निरन्तर रहनेछ। यस क्षेत्रको समृद्धिका लागि मैले देखेका सपनाहरू र अघि बढाएका योजनाहरूलाई सार्थक तुल्याउन म आफ्नो ठाउँबाट सदैव लागिरहने छु।’

पौडेलले पार्टीका सम्पूर्ण सदस्य र कार्यकर्तालाई सन्देश दिँदै लेख्नुभएको छ, ‘निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुनुहोस्। राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव आइरहन्छ। कस्तो परिस्थितिमा पनि हाम्रो निष्ठा र सङ्कल्प कमजोर हुनु हुँदैन। यसर्थ, अझ सशक्त रूपमा जनताको सेवामा समर्पित हुन हार्दिक अनुरोध गर्दछु।’

उहाँले विशेषगरी नेकपा (एमाले)को आगामी सुधारतर्फ जोड दिनुभयो, ‘बिगतमा हाम्रा तर्फबाट भएका गल्ती र कमजोरीहरूको गंभीर समिक्षा गर्दै, जनअपेक्षा अनुसार आफैंलाई रुपान्तरित गर्ने र नेकपा (एमाले)को नीति, नेतृत्व, संगठन तथा कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिनेछु। हामी अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित रहनेछौँ।’

पौडेलले आगामी दिनमा नेकपा (एमाले)लाई जनअपेक्षासँग मिलाएर मजबुत बनाउन र समाजको सेवामा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।