जनता टाइम्स

२४ फाल्गुन २०८२, आईतवार १७:०४

‘तिमी फेरि उठ्नेछौ किनकि तिमी गगन हौँ, जसलाई कुनै सीमाले छेक्न सक्दैन’


काठमाडौं, फागुन २४ । नेपाली कांग्रेसका सभापति गगन थापालाई पत्नी डाक्टर अञ्जना केसीले निर्वाचनको अंक गणितले निष्ठाको उचाइ नाप्न नसक्ने भन्दै हार नमान्न सार्वजनिक सुझाव दिनुभएको छ । अञ्जनाले आज सामाजिक सञ्जालमा लामो धारणा राख्दै पति गगनलाई नथाक्न हौसला दिनुभएको हो ।

गगनको मेहनत, योगदान र समर्पणको अगाडि आफ्ना शब्दहरु अर्थहीन भएके अञ्जनाको भनाई छ । ‘तिम्रो त्यो अथक परिश्रम, जनताको घरदैलोमा पुग्दाको तिम्रो त्यो ऊर्जा र परिवर्तनका लागि तिमीभित्र बलेको त्यो आगो, यी सबै कुराको साक्षी म छु’, पत्नी अञ्जनाले भन्नुभएको छ, ‘तिमीले आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेका थिएनौ, तिम्रो प्रयासमा कुनै खोट थिएन, मात्र समय र परिस्थितिले आज अर्कै बाटो रोज्यो।’

निर्वाचन मतपरिणामलाई शक्तिमा बदल्न पनि अञ्जनाले पति गगनलाई आग्रह गर्नुभएको छ । ‘विश्राम लेऊ, आफैलाई फेरि बटुल, तर याद राख, यो देशलाई तिम्रो खाँचो सकिएको छैन, बरु अझ बढेको छ,’ अञ्जनाले लेख्नुभएको छ ।

गगन, तिमी जस्तो मान्छे ओइलाउनु हुँदैन। तिमी नथाक, किनकि तिमी थाक्यौ भने यो देशको एउटा ठूलो सपना थाक्नेछ। तिम्रो आवाजले सदनमा मात्र होइन, अब हरेक नेपालीको मन-मनमा न्याय र परिवर्तनको झिल्को बाल्नुपर्छ।

अञ्जनाको भनाई जस्ताको तस्तै

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥
प्रिय गगन,
आज शब्दहरू तिम्रो मेहेनतको अगाडि निकै साना महसुस भइरहेका छन्। तिम्रो त्यो अथक परिश्रम, जनताको घरदैलोमा पुग्दाको तिम्रो त्यो ऊर्जा, र परिवर्तनका लागि तिमीभित्र बलेको त्यो आगो, यी सबै कुराको साक्षी म छु। तिमीले आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेका थिएनौ। तिम्रो प्रयासमा कुनै खोट थिएन, मात्र समय र परिस्थितिले आज अर्कै बाटो रोज्यो।

हार र जित त सिक्काका दुई पाटा हुन् गगन, तर ‘निष्ठा’ सबैको भागमा हुँदैन। आजको यो चुनावी परिणामले तिम्रो कदलाई घटाउन सक्दैन। कतिपय मानिसहरू पदका लागि राजनीति गर्छन्, तर तिमीले त राजनीतिका लागि आफ्नो जीवन नै समर्पित गर्यौ। यो एउटा निर्वाचनको हार मात्र हो, तिम्रो विचार र तिम्रो भिजनको हार होइन।

निर्वाचनको एउटा अंकगणितले तिम्रो उचाई नाप्न सक्दैन गगन। तिमी एउटा नाम मात्र होइनौ, तिमी त यो देशका हजारौँ युवाहरूको धड्कन हौ, एउटा भरोसा हौ। एउटा युद्ध हार्दैमा योद्धा सकिँदैन, बरु ऊ अझ परिपक्व र बलियो भएर उभिन्छ। आज तिम्रो अनुहारमा देखिएको त्यो थकाइ हारको संकेत होइन, यो त एउटा लामो र महान यात्राको विश्राम मात्र हो।

गगन, तिमी जस्तो मान्छे ओइलाउनु हुँदैन। तिमी नथाक, किनकि तिमी थाक्यौ भने यो देशको एउटा ठूलो सपना थाक्नेछ। तिम्रो आवाजले सदनमा मात्र होइन, अब हरेक नेपालीको मन-मनमा न्याय र परिवर्तनको झिल्को बाल्नुपर्छ।

हिजो तिमी एक्लै थियौ होला, आज तिमीसँग तिम्रो विचार र भिजनले बाँधिएका लाखौँ मनहरू छन्। विश्राम लेऊ, आफैलाई फेरि बटुल, तर याद राख, यो देशलाई तिम्रो खाँचो सकिएको छैन, बरु अझ बढेको छ। तिम्रो निष्ठा र तिम्रो अजेय यात्रामा मलाई सधैँ गर्व थियो, छ र सधैँ रहनेछ। तिमी फेरि उठ्नेछौ, किनकि तिमी गगन हौ, जसलाई कुनै सीमाले छेक्न सक्दैन।