जनता टाइम्स

२२ मंसिर २०७६, आईतवार १४:४६

अध्यक्ष दाहाल र नेकपा नेताबीच परामर्श, दोस्रो पटक बोलाए सचिवालय बैठक


काठमाडौं, मंसिर २२

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पसुष्पकमल दाहाल प्रचण्डले सोमबार सचिवालय बैठक बोलाउनुभएको छ । कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनुभएका उहाँले सोमबार दोस्रोपटक नेकपा सचिवालय बैठक बोलाउनुभएको हो ।

गतसाता सचिवालयको पहिलो बैठक राखेका प्रचण्डले पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै नेकपाका मुख्य नेताहरुसँग भेटघाट तिव्र पार्नुभएको छ । उहाँले आज बिहान वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायतका नेतासँग परामर्श गर्नुभएको थियो ।

भेटमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेलगायतका विषयमा छलफल भएको थियो । सोमबारको सचिवालय बैठकले स्थायी कमिटीको बैठक तोक्ने सम्भावना रहेको एक नेताले जानकारी दिनुभयो । बैठकमा उपचुनाव भएका स्थानहरूको समीक्षात्मक रिपोर्टमाथिसमेत छलफल हुने बताइएको छ ।

अघिल्लो सचिवालय बैठकले आइतबारसम्म रिपोर्ट पठाउन मातहत कमिटीलाई निर्देशन दिएको थियो । उहाँले छिट्टै नै सबै कमिटिको बैठक राखेर देशव्यापी रूपमा जनपरिचालन अभियान सञ्चालन गर्ने जानकारी दिनुभएको थियो ।