– जनताटइम्स –
एक समय थियो, जब प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अस्तित्वकै सङ्कटमा पुगेको जस्तो देखिन्थ्यो। पार्टीका प्रभावशाली नेताहरू धमाधम बाहिरिँदै थिए, संगठन कमजोर बन्दै थियो, र नेतृत्वमाथि नै गम्भीर प्रश्नहरू उठिरहेका थिए। त्यही पार्टी केही महिनामै अप्रत्याशित उभारसहित दुईतिहाइ नजिकको परिणाम ल्याउने शक्तिमा रूपान्तरित भयो। तर आज फेरि उही पार्टी भित्रैबाट उठेका मतभेद, अहङ्कार र नेतृत्वको द्वन्द्वले नयाँ सङ्कटको सङ्केत दिइरहेको छ।
यो कथा केवल एउटा पार्टीको उतार–चढावको होइन, नेपालको समकालीन राजनीति, सामाजिक सञ्जालबाट बनेका नेताहरू र ‘लोकप्रियतावाद’को उभार र सीमाको पनि कथा हो।
सङ्कटको सङ्घारमा पुगेको रास्वपा
निर्वाचनअघि रास्वपाको अवस्था निकै दयनीय देखिन्थ्यो। पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिनु, अदालतमा बिगो बराबर रकम बुझाएर धरौटीमा छुट्नु र त्यसले पार्टीको नैतिक धरातल कमजोर बनाउनु । यी सबै घटनाले रास्वपाको साखमा गम्भीर धक्का पुर्याएको थियो।
पार्टीभित्रको असन्तुष्टि यसरी बढेको थियो कि कतिपय नेताहरूले खुलेआम पार्टी छाड्न थालेका थिए। नयाँ शक्ति बन्ने दाबी गरेको दल आफैँ विघटनको सङ्घारमा पुगेको देखिन्थ्यो।
त्यसैबिच, देशभर ‘नयाँ विकल्प’को खोजी तीव्र बन्दै थियो। पुराना दलप्रतिको वितृष्णा चरममा पुगेको थियो। यही वातावरणमा नयाँ–नयाँ अनुहारहरू राजनीतिमा प्रवेश गर्न थाले।
नयाँ शक्तिको उभार र विभाजन
ऊर्जा प्राधिकरणका प्रमुखका रूपमा लोकप्रियता कमाएका कुलमान घिसिङ र धरानका मेयर हर्क साम्पाङ जस्ता व्यक्तिहरूले छुट्टै राजनीतिक शक्ति निर्माणको प्रयास गर्दा युवापुस्तामा उनीहरूको आकर्षण बढ्दै गयो।
त्यसैबिच, बालेन्द्र साह (बालेन) सामाजिक सञ्जाल र शहरी जनमतमा अत्यन्त लोकप्रिय भइसकेका थिए। तर यी सबै शक्तिहरू एक ठाउँमा आउन सकेनन्। विभाजनकै बिचमा ‘जेनजी आन्दोलन’को नाममा देशभर अस्थिरता बढ्यो । जसले अपेक्षित परिणाम दिन सकेन।
यही असफलताले आन्दोलनका सूत्रधारहरूलाई एउटा निष्कर्षमा पुर्यायो-यदि यी शक्तिहरू एक ठाउँमा आएनन् भने राजनीतिक उद्देश्य पूरा हुँदैन।
‘एकता’को नाटकीय प्रयास
जेनजी आन्दोलनको नाममा देश खरानी बन्यो । त्यही खरानीको थुप्रो माथि उभिएर बनेको सुशीला कार्की नेतृत्वको सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गर्याे ।
नयाँ शक्ति भनिएकाहरू विभाजित अवस्थामा पुग्नु, रास्वपा पतनको बाटोमा अघि बढ्नुले जेनजीको नाममा भएको आन्दोलन र विध्वंसले चाहेको परिणाम ल्याउन सक्दै भन्ने कुरामा आन्दोलनका सूत्रधारहरू स्पष्ट थिए ।
जेनजी आन्दोलन गर्न उक्साएर आन्दोलन पछि कुना पसेका काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साह बालेन बाहिर निस्कनु भएको थिएन । आन्दोलनका नाममा किशोर किशोरीहरूले ज्यान गुमाए । सयौँ घाइते भए साह न मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्न पुग्नुभयो न बिरामीलाई भेट्न कुनै दिन अस्पताल नै जानु भयो ।
बालेनको मौनता, रास्वपाको विसर्जनको बाटो, कुलमानको नयाँ पार्टी यी सबै कुराको बिचमा प्रतिनिधि सभामा समानुपातिक तर्फको मनोनयन दर्ताका मिति नजिकिँदै थियो । अब पनि यी तीनवटा शक्तिलाई नमिलाउने हो भने आफ्नो इच्छा पुरा नहुने जेजनी आन्दोलनका सूत्रधारहरूले राम्रोसँग बुझेका थिए ।
त्यसैले सो विद्रोहका सूत्रधार मध्येका एक सुधन गुरुङले रवि–बालेन र कुलमानलाई अपहरणको शैलीमा एउटा कोठामा थुनेर एकता र सहकार्यको सहमतिमा हस्ताक्षर गराउनुभयो । हस्ताक्षर गरेको केही दिनमा नै आफूलाई अपमान गरेको भन्दै कुलमान सो मोर्चाबाट निस्किनुभयो तर बालेन भने रास्वपाको गिरेको साख उठाउन देश दौडाहामा निस्कनु भयो ।
बालेनको प्रवेश: रास्वपाको ‘टर्निङ प्वाइन्ट’
जब बालेन ‘घण्टी’ चुनाव चिह्न बोकेर देश दौडाहामा निस्किनुभयाे, रास्वपाको राजनीतिक ग्राफ अचानक उकालो लाग्न थाल्यो। ‘ठगहरूको पार्टी’ भन्ने आरोप कमजोर हुँदै गयो, र पार्टी फेरि जनतामाझ स्थापित हुन थाल्यो।
रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सारेपछि अभियानले झन् तीव्रता पायो। मधेसदेखि पहाडसम्म बालेनको भ्रमण, पहिचानको राजनीति र ‘नयाँ नेतृत्व’को नाराले जनमत प्रभावित गर्न थाल्यो।
सहरी क्षेत्रमा पहिले नै लोकप्रिय रहेका बालेन ग्रामीण क्षेत्रमा पनि स्वीकार्य बन्न थाल्नुभयो। विदेशमा रहेका नेपालीहरूको सामाजिक सञ्जालमार्फतको समर्थनले पनि यो लहरलाई थप बलियो बनायो।
अप्रत्याशित चुनावी परिणाम
निर्वाचन परिणाम सबैका लागि चकित पार्ने खालको रह्यो। उम्मेदवार चिन्ने–नचिन्ने, स्थानीय सन्दर्भ बुझ्ने–नबुझ्नेभन्दा पनि ‘घण्टी’ प्रतीकले नै मत तान्यो।
प्रतिनिधि सभाका २७५ सिटमध्ये रास्वपाले एक्लैले १८२ सिट जित्नु-यो नेपालको संसदीय इतिहासमै अभूतपूर्व घटना बन्यो। दुईतिहाइ बहुमतका लागि केवल २ सिट अपुग रहनु, त्यो पनि दोस्रो पटक चुनाव लडेको दलका लागि, असाधारण उपलब्धि थियो।
तर भित्रैबाट सुरु भयो द्वन्द्व
चुनावी सफलतासँगै पार्टीभित्र दुई स्पष्ट धार देखा परे-एक बालेन पक्ष र अर्को रवि पक्ष।
बालेनलाई लाग्यो-‘मेरो कारण पार्टी यहाँसम्म आयो।’
रवि लामिछानेलाई विश्वास-‘यो पार्टी मैले बनाएको हो।’
यो ‘दम्भ’ र ‘घमण्ड’ चुनावकै बेला देखिन थालेको थियो। संयुक्त कार्यक्रमहरूमा असमझदारी, बिचमै कार्यक्रम छाड्ने र व्यक्तिगत निर्णयहरू-यी सबै सङ्केत थिए कि भित्र केही ठिक छैन।
बैठकदेखि तालिमसम्म: देखिन थालेका दरार
रास्वपाको हालैको समानुपातिक सांसद टुङ्गो लगाउने बैठक भौतिक रूपमा बस्न सकेन। औपचारिक रूपमा सभापति अस्वस्थ भएकाले भर्चुअल बैठक गरिएको भनिए पनि भित्री कारण फरक रहेको चर्चा छ-बालेन बैठकमा सहभागी हुन इच्छुक नहुनु।
त्यसको भोलिपल्ट नै सभापति अस्पतालबाट डिस्चार्ज हुनु संयोग मात्र थिएन भन्ने बुझाइ पार्टीभित्रै छ।
अझ रोचक कुरा-नयाँ सांसदका लागि आयोजित दुई दिने आवासीय तालिममा बालेनको नाम नै वक्ता सूचीमा छैन। ललितपुरस्थित होटेलमा भइरहेको उक्त कार्यक्रममा वरिष्ठ नेताको हैसियतमा उहाँको अनुपस्थिति अर्थपूर्ण मानिएको छ।
त्यसै गरी, बालेन सहभागी नभएकै कारण सभापति लामिछाने पनि उद्घाटनमा अनुपस्थित रहनु, उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेले मात्रै कार्यक्रम सुरु गर्नु-यी घटनाले पार्टीभित्रको दूरी झन् स्पष्ट बनाएको छ।
पार्टी उपसभापति डिपी अर्यालले कार्यक्रममा दुई नेताहरूलाई सहभागी गराउन प्रयास भइरहेको भन्नुले सो पार्टी भित्रको विवादको आगो भुस जस्तै सल्किएको कुरालाई पुष्टि गरेको छ ।
विचारविहीन एकता: कति टिकाउ ?
रास्वपा मूलतः कुनै स्पष्ट विचारधारा वा दीर्घकालीन नीति लिएर बनेको पार्टी होइन । पुराना दलप्रतिको असन्तुष्टि, सामाजिक सञ्जालको प्रभाव, र ‘एण्टी–इस्ट्याब्लिस्मेन्ट’ भावनाबाट जन्मिएको यो शक्ति अहिले त्यही कमजोरीसँग जुधिरहेको देखिन्छ।
विचार र एजेण्डाभन्दा व्यक्तित्वमा आधारित राजनीति हुँदा, त्यहाँ व्यक्तिहरूबिचको टकरावले नै पार्टीको भविष्य निर्धारण गर्न थाल्छ। रास्वपाका अहिले त्यही भइरहेको सङ्केत देखिन्छ।
प्रधानमन्त्रीको सवाल: कानुनी र राजनीतिक जटिलता
रास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउने घोषणा गरेको छ। तर पार्टीको वर्तमान विधानअनुसार संसदीय दलको नेता स्वतः पार्टी सभापति हुन्छन् । अर्थात् रवि लामिछाने स्वतः संसदीय दलको नेता बन्नुहुन्छ ।
बालेनलाई संसदीय दलको नेता बनाउन विधान संशोधन आवश्यक छ। विधान संशोधन महाधिवेशनले मात्र गर्न सक्छ । विधान संशोधन नै भए पनि बालेनलाई संसदीय दलको नेता बनाउनका लागि बहुमत सांसदको समर्थन चाहिन्छ। अहिले देखिएको विभाजनको अवस्थामा त्यो सहज देखिँदैन।
बालेनको दम्भ र रविको घमण्डले टक्क खान लाग्यो भने यो नहुन पनि सक्छ । निर्वाचन लगत्तै पार्टी उपसभापति डिपी अर्यालले बालेन र रवि बिच के सम्झौता भएको छ आफूले नपढेको भन्नु, हरि ढकालले मैले मात्रै बनाएर प्रधानमन्त्री बन्ने हो र भन्ने अभिव्यक्ति दिनु, बालेनका भक्त राजु पाण्डेले कसैले दायाँबायाँ बोल्ने होइन अबको प्रधानमन्त्री बालेन भनेर धम्की दिनु जस्ता घटनाले रास्वपा भित्र राम्रै खिचडी पोकेको देखिन्छ ।
उभारको उचाइ वा पतनको सुरुवात ?
रास्वपाको यात्रा छोटो समयमै चरम उतार–चढावले भरिएको छ। विघटनको सङ्घारदेखि दुईतिहाइ नजिकको सफलता र फेरि भित्रैबाट सुरु भएको द्वन्द्वले पार्टीलाई कहाँ पुर्याउला ?
अब प्रश्न उठ्छ- के रास्वपा आफ्नै भित्रको द्वन्द्व व्यवस्थापन गरेर स्थायी राजनीतिक शक्ति बन्न सक्छ ? वा, यो पनि इतिहासका अन्य अस्थायी उभार झैँ केही समयपछि बिलाउनेछ ?
उत्तर समयले दिनेछ। तर सङ्केतहरू भने अहिले नै देखिन थालेका छन्।













प्रतिक्रिया दिनुहोस्