जनता टाइम्स

२५ मंसिर २०७६, बुधबार ०७:४७

सागको भव्य समापन समारोह : ‘ड्रोन लाइट’ मा बुद्ध, नेपालको नक्सा, मन्दिर र झण्डा


काठमाडैं, मंसिर २५ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन जस्तै समापन समारोह पनि भव्य भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कला र विद्यार्थीको नाचसँगै ‘ड्रोन लाइट’ ले समापन समारोहलाई थप झकिझकाउ बनायो ।

१ सय ५० वटा ‘ड्रोन लाइट’ प्रयोग गरेर बुद्ध, नेपालको नक्सा र झण्डा, मन्दिरजस्ता आकृतिहरु बनाइएको थियो ।

आतिसबाजीसँगै ड्रोनको प्रयोगले नयाँ र आकर्षक कलाकृति प्रदर्शन गर्न सकिन्छ । यसलाई सफ्टवेयरबाट नियन्त्रण गरिने भएकोले ड्रोन प्रयोग गर्न सजिलो हुने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

नेपाल ले ५१ स्वर्ण पदकसहित १३औँ दक्षिण एशियाली खेलकूद (साग)को बिदाइ गरेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले यसपटक कीर्तिमानी प्रदर्शन गरेको हो । नेपालले १३औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ । यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।

तेह्रौँ सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जित्यो । नेपालले आज बक्सिङ र पुरुष फुटबलमा स्वर्ण जितेको थियो । पुरुष फुटबलमा भूटानलाई २–१ गोलले हराउँदै स्वर्ण जितेको थियो भने बक्सिङमा सनिल शाहीले स्वर्ण जितेका थिए । सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ । नेपाल सुटिङमा भने पदकविहीन रह्यो ।

नेपालले आठौँ साग जस्तै यसपटक तेक्वान्दो र करातेमा सफलता प्राप्त ग¥यो । तेक्वान्दोबाट सर्वाधिक १२ तथा करातेबाट १० स्वर्ण पदक प्राप्त भयो । बक्सिङमा नेपालले दुई दशकपछि स्वर्ण पदक पायो । बक्सिङमा नेपालले तीन स्वर्ण जितेको छ । तेह्रौँ सागमा पौडीकी गौरिका सिंह सर्वाधिक सफल खेलाडी बनिन् । उनले सागको एउटै संस्करणमा चार स्वर्ण जित्दै कीर्तिमान बनाइन् ।

यस्तै करातेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण कीर्तिमान बनाए । महिला क्रिकेटतर्फ अञ्जली चन्दले दुई दशमलव एक ओभर बलिङ गर्दै बिना कुनै रन छ विकेट लिएर विश्व कीर्तिमान बनाइन् । तेह्रौँ सागका खेल काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा खेलाइएका थियो ।

भारत १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित कूल ३१२ पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा रह्यो । यस्तै श्रीलङ्का ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित कूल २५१ पदक जित्दै तेस्रो, पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित कूल १३१ जितेर चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कूल १३८ पदक जितेर पाँचौँ, माल्दिभ्स एक स्वर्ण र चार कास्य गरी कूल पाँच पदक जित्दै छैटौँ तथा भूटान सात रजत र १३ कास्यसहित कूल २० पदक जित्दै साग पदक तालिकाको अन्तिम स्थानमा रह्यो ।