काठमाडौं, चैत ८ । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै छिमेकी मुलुक भारत र चीनले यस बर्षबाट फेरि सीमा व्यापार पुन: सुरु गर्ने भएका छन् ।
भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)को रिपोर्टअनुसार, ६ वर्षको अन्तरालपछि उक्त भूमि हुँदै दुई छिमेकी देशले पुन: सीमा व्यापार सुरु गर्ने तयारी गरेका हुन् ।
पीटीआईले उत्तराखण्डका जिल्ला अधिकारी आशिष भटगाईलाई उद्धृत गर्दै सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि केन्द्र सरकारको आदेशअनुसार तयारी सुरु भइसकेको जनाएको छ ।
स्थानीयले पुलाङ-गुन्जी भन्ने लिपुलेक भञ्ज्याङ, कालापानी क्षेत्रमा अवस्थित तीनवटा गाउँहरूमध्ये एक हो । अहिले भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रमाथि नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ ।
भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गरेपछि यो व्यापार पुन: सुरु हुन लागेको हो । भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई हिमालयन भञ्ज्याङ हुँदै हुने व्यापार पुन: सुरु गर्न अनुरोध गर्दै पत्र लेखेको जानकारी दिएका छन ।

यसअघि सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेकको विषयमा भारत र चीनले गरेको द्विपक्षीय सम्झौताको कडा शब्दमा बिरोध गरेको थियो ।
नेपालमा चुनाव भएर नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व गर्नै लाग्दा दुई छिमेकी मुलुक भारत र चीनले यस्तो काम थाल्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । जसलाई सत्ता परिवर्तनको संघारमा नेपाली स्वाभिमानमाथि छिमेकीको धावाको रुपमा लिइएको छ ।
भारत र चीनले यसअघि पनि यस्तो योजना बनाएकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तात्कालिन सरकारले कुटनीतिक नोट पठाएर कडा आपत्ति जनाएपछि दुई देशको सीमा व्यापारको योजना रोकिएको थियो।

अब सरकारको नेतृत्व गर्न लागेको दल र सरकारको नेतृत्व बिगतको सरकार जसरी आपत्ति नजनाउने अनुमानका साथ भारत र चीनबाट नेपाली भूमि प्रयोग गरेर नेपाली सार्वभौम सत्तामाथि धावा बोलिएको हो ।













प्रतिक्रिया दिनुहोस्