काठमाडौं, चैत १०। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले पार्टी सभापतिबाट दिएको राजीनामा कुनै हतार वा हताशमा नभई नैतिक जिम्मेवारीबोधका आधारमा भएको स्पष्ट पार्नुभएको छ ।
पार्टी केन्द्रीय समिति बैठकमा आज धारणा राख्दै उहाँले ‘मैले कुनै हतारोमा आएर राजीनामा दिएको होइन, हताश भएर दिएको पनि होइन’ भन्नुभयो । साथै विशेष महाधिवेशन गरेर गलत गरियो भन्ने ठानेर राजीनामा दिएको भन्ने कुरा पनि उहाँले अस्वीकार गर्नुभयो ।
उहाँले प्रतिकूल परिस्थितिमा समेत खटिन तयार रहेका पार्टीका साथीहरूको निर्णय आफ्ना लागि शिरोधार्य भएको उल्लेख गर्दै त्यसकै आधारमा राजीनामा फिर्ता लिएको बताउनुभयो ।
सभापति थापाले विशेष महाधिवेशनपछि तत्कालै निर्वाचनमा जानुपर्ने बाध्यताका कारण पर्याप्त समय दिन नपाइएको उल्लेख गर्दै त्यसका बाबजुद पार्टीको प्रमुख भएको नाताले हारको नैतिक जिम्मेवारी लिनु आफ्नो कर्तव्य भएको धारणा राख्नुभयो । ‘त्यस कारणले नै मैले केन्द्रीय समिति मार्फत राजीनामा बुझाएको हो,’ उहाँले भन्नुभयो ।
उहाँले पार्टीका नेता तथा कार्यकर्ताबाट प्राप्त माया, भरोसा र सद्भावप्रति कृतज्ञता व्यक्त गर्दै आफूले राजीनामा दिएर आफ्नो कर्तव्य पूरा गरेको र केन्द्रीय समितिले त्यसलाई अस्वीकृत गरेर आफ्नो जिम्मेवारी निर्वाह गरेको बताउनुभयो । अब के ठिक र के गलत भन्ने विषयको अन्तिम निर्णय महाधिवेशनबाट हुने उहाँको भनाइ छ ।
राजनीतिक सन्दर्भमा उहाँले सरकार बलियो भएको अवस्थामा प्रतिपक्षको जिम्मेवारी अझ बढ्ने उल्लेख गर्दै अहिले कांग्रेस त्यही भूमिकामा रहेको बताउनुभयो । आगामी पाँच वर्ष देश कुनै पनि दुर्घटनामा नपर्नु पर्ने र कुनै अतिवादीको सिकार हुन नहुनेमा उहाँले जोड दिनुभयो ।
सुशासन लगायतका विषयमा सरकारसँग नागरिकको विशेष अपेक्षा रहेको उल्लेख गर्दै उहाँले ती विषयमा कांग्रेसले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारका राम्रा काममा कांग्रेसकाे साथ रहने उहाँले स्पष्ट पार्नुभयो ।













प्रतिक्रिया दिनुहोस्