जनता टाइम्स

११ चैत्र २०८२, बुधबार १६:५०

बालेन शाहको बयान : जेनजी आन्दोलनमा मेरो समर्थन थिएन


काठमाडौं, चैत ११। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह (बालेन्द्र) ले गत भाद्र २३ र २४ गते भएको घटनामा आफ्नो समर्थन नरहेको र सो घटनाको सबै जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलले लिनुपर्ने अडान राख्नुभएको छ ।

घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई बयान दिँदै भावी प्रधानमन्त्रीसमेत रहनुभएका बालेनले यस्तो अडान राख्नुभएको हो । बालेनको बयानमा भनिएको छ, ‘भाद्र २३ गतेको शान्तिपूर्ण र्यालीमा मेरो समर्थन रहेको थियो तर आन्दोलनमा भने समर्थन र सहभागिता दुवै थिएन । समर्थन हुने कुरा पनि भएन ।’

जनआस्था साप्ताहिकमार्फत सार्वजनिक भएको आयोगको प्रतिवेदनअनुसार बालेनले दिनुभएको बयानको १७८ शब्दमा बयान समावेश छ । उहाँले २३ गतेको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा भने समर्थन र सहभागिता दुवै नरहेको बताउनु भएको छ ।

भाद्र २३ र २४ गते दुवै दिन आफू सरकारी निवास लैनचौरमै रहेको बालेनलको भनाइ छ । बयानमा बालेनले व्यवसायी र रेष्टुरेन्टहरुले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको जानकारी गराउनु भएको छ । यस्तै उहाँले आफ्नो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गरेको दाबी गर्नुभएको छ ।

‘मैले जनधनको रक्षाको लागि सामाजिक सञ्जालमार्फत संयमता अपनाउन अपिल गरेको थिएँ । घटनापश्चात् महानगर प्रहरी बललगायत अन्य विभागहरूसँग समन्वय गरी घाइते र मृतकहरूको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो,’ बालेनले बयानमा भन्नुभएको छ, ‘२४ गतेको घटना दुःखद थियो र २३ गते सरकारको अत्यधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ ।’

२४ गते कामनपाले समयमै दमकल पठाएको र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको पनि उहाँले बताउनु भएको छ । बयानमा बालेनले राष्ट्रपति र सेनापतिको आग्रहमा आफूले आन्दोलनलाई शान्त पार्ने भूमिका खेलेको उल्लेख गर्नुभएको छ । ‘तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ,’ बालेनले बयानमा भन्नुभएको छ ।

काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदै गर्दा अनावश्यक रोकेपछि विरोधस्वरुप प्रतिकात्मकरुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा ‘जलाइदिन्छु’ शब्द प्रयोग नभएको पनि उहाँको भनाई छ ।