जनता टाइम्स

१४ चैत्र २०८२, शनिबार १९:२८

द्वन्द्व निम्त्याउने कदम नचाल्न सरकारलाई नेकपाकाे चेतावनि 


काठमाडौं, चैत १४ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनले जारी गर्नुभएको विज्ञप्तिमा सरकारलाई द्वन्द्व निम्त्याउने कुनै पनि कदम नचाल्न आग्रह गरिएको छ। विज्ञप्तिमा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ। “यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लङ्घन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नगरोस् भन्ने हाम्रो आग्रह छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ।

यसैबीच, नेकपाले विज्ञप्तिमार्फत प्रतिनिधिसभा निर्वाचनमा बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह प्रधानमन्त्री हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।