जनता टाइम्स

२६ मंसिर २०७६, बिहीबार १२:४६

यसकारण उठाइएन मारुती सिमेन्ट मजदूरको शव


लहान, मंसिर २६

मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहुँदा विगत तीन दिनदेखि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानको शव लहानस्थित अस्पतालमा राखिएको छ । उद्योग व्यवस्थापनको लापरवाहीका कारण उद्योगमा मजदूरी गर्दै आएकी पासवानले आत्महत्या गरेको भन्दै मजदूरले आज तेस्रो दिन पनि बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराएका छन् ।

सिमेन्ट उद्योग व्यवस्थापन पक्षले कामबाट हटाएपछि पासवानले गत मङ्गलबार बिहान उद्योग नजिकैको फुलबारीमा आत्महत्या गरेको थियो । अखिल नेपाल औद्योगिक मजदूर सङ्गठनका सदस्यसमेत रहेकी पासवानले आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले काम बहिष्कार गरी आन्दोलन गर्दै आएका छन् । मजदूरहरुको माग सम्बोधन गरी समस्या समाधान गर्न बुधबार साँझ भएको उद्योग व्यवस्थापन र मजदूर प्रतिनिधिबीचको वार्तामा कुनै सहमति नभएपछि आज पुनः वार्ता हुने जनाइएको छ ।

बुधबारको वार्तामा उद्योग व्यवस्थापन पक्षले तत्काल घटनाको सत्यतथ्य छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने र छानबिन समितिको प्रतिवेदनका आधारमा पुनः वार्ता बसेर समस्या समाधान गर्नुपर्ने अडान लिएपछि कुनै सहमति नभएको अखिल नेपाल मजदूर सङ्गठनका प्रदेश नं २ का सचिव केदार देवले जानकारी दिनुभयो । वार्तामा उद्योग व्यवस्थापन पक्षले तत्काल सबै विषयवस्तु एकमुष्ट रुपमै सहमति गर्नुपर्ने मजदूर पक्षको अडान रहेको सचिव देवले बताउनुभयो ।

मारुती सिमेन्ट उद्योगमा कार्यरत पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेको भन्दै कामबाट निकाल्नेलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग मजदूर पक्षको छ । माग सम्बोधन नभएसम्म मृतकको शव नउठाउने र आन्दोलन थप चर्काउने मृतक परिवार तथा मजदूरले बताएका छन् ।