जनता टाइम्स

२८ बैशाख २०७६, शनिबार १२:०४

लमजुङ ९ महिनामा १४५ सम्बन्धविच्छेदका मुद्दा


नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै २०७६ वैशाख २७ गतेसम्म जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले जनाएको छ ।

विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानूनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा पुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको छ । मुद्दामध्ये ४२ पुरुष दर्ता गरेका छन् । ४२ मध्ये १२ सम्बन्धविच्छेद भइसकेको र ३० मुद्दा बाँकी रहेको श्रेस्तेदार शाखा अधिकृत जगतबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा देवानी लागू हुनुअघि एक-दुई पुरुषको आउने गरेकामा नयाँ कानूनसँगै पुरुषले पनि महिलाले जस्तै गरी सम्बन्धविच्छेदको मुद्दा दिन थालेका छन् । त्यस्तै देवानी संहिता ऐन, २०७४ लागू भएपछि वैशाख २७ गतेसम्म महिलाले १०३ सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका छन् । सोमध्ये ७८ सम्बन्धविच्छेदका मुद्दा फछ्र्यौट भई मिलापत्र गरिएको र २५ बाँकी रहेको श्रेस्तेदार शाखा अधिकृत भण्डारीले बताउनुभयो ।

महिला र पुरुष गरी १४५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ५५ मुद्दाको छिनोफानो हुन बाँकी छ । बालविवाह, बहुविवाह, वैदेशिक रोजगार, आधुनिक जीवनशैलीको नक्कल, इन्टरनेटको बढ्दो प्रयोग, देखावटीजस्ता कारणले सम्बन्धपिवछेदका घटना बढ्दै गएको जिल्ला अदालतले जनाएको छ ।

विसं २०७२-७३ मा सम्बन्धविच्छेदका मुद्दा ११६ परेको थियो । त्यस्तै २०७३-७४ मा १०८, २०७४-७५ मा १५१ र २०७५-७६ को नयाँ कानून लागू नभएको मितिसम्म १९ महिलाद्वारा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत लमजुङले जनाएको छ ।