जनता टाइम्स

२६ मंसिर २०७६, बिहीबार १७:४५

कांग्रेसमा देखियो देउवाको अधिनायकवाद : बरिष्ठ नेता–निर्वाचित महामन्त्रीले गरे केन्द्रीय समिति बैठक बहिष्कार


काठमाडौं, मंसिर २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बरिष्ठ नेता र महामन्त्रीले नै बहिष्कार गरेका छन । सभापति शेरबहादुर देउवाले अधिनायकवादी शैली अपनाएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइरालासहितका नेताहरुले बहिष्कार गर्नुभएको हो ।

आज दिउसो एक बजेका लागि बोलाइएको बैठकमा सहमति जुटन नसकेपछि नाराबाजीसहित बहिष्कार भएको हो । बैठकका एजेन्डामाथि सहमति नभएपछि पौडेल नेतृत्वको असन्तुष्ट समूहले बैठक बहिष्कार गरेको हो । बैठक बहिष्कार गर्ने असन्तुष्ट पक्षको चेतावनीलाई समेत बेवास्ता गर्दै सभापति देउवाले बैठक सुरु गर्न निर्देशन दिएपछि अपरान्ह साढे चार बजे बैठक सुरु भएको छ । बैठकमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मालगायत देउवा पक्षीय सदस्यहरु सहभागी हुनुहुन्छ ।

केन्द्रीय कार्यलयको मूल सभाकक्षमा बैठक बसिरहे पनि असन्तुष्ट नेता तथा केन्द्रीय सदस्यहरु पौडेलको कार्यकक्षमा बसेर छलफल गरिरहेका छन । देउवाले बहुमतको आडमा जबरजस्ती पेलेर जान खोजेकोले आफूहरु बैठकमा सहभागी नभएको बरिष्ठ नेता पौडेलले जानकारी दिनुभयो । ‘उहाँले एकलौटी रुपमा पार्टी चलाउन खोज्दै हुनुहुन्छ, त्यो हामीलाई मान्य छैन,’ पौडेलले भन्नुभयो । बैठक सुरु हुनुअघि नै निर्वचित महामन्त्री कोइराला निवासतिर लाग्नुभएको थियो । महामन्त्री कोइराला पनि देउवाको प्रस्तावमा असहमति राख्नुभएको छ ।

बहिष्कार गरेर अलग्गै कक्षमा बस्ने टोलीमा प्रकाशमान सिंह, डा रामशरण महत, शेखर कोइरालालगायत नेताहरु हुनुहुन्छ । आज १ बजे बस्ने भनिएको बैठक एजेन्डामा सहमति नहुँदा ढिलो भएको थियो । केन्द्रीय समितिको बैठकअघि एजेन्डामाथि छलफल गर्न सभापति देउवा, वरिष्ठ नेता पौडेललगायतका पदाधिकारीको बैठक सानेपा पार्टी कार्यलयमा बसे पनि सहमति जुट्न नसकेको हो । खासगरी विभाग गठनसम्बन्धी एजेन्डामा सहमति हुन नसकेको हो । हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ पुर्याउने तयारी संस्थापन पक्ष छ । ४५ विभाग गठनसम्बन्धी प्रस्तावलाई पारित गराउने रणनीतिमा देउवासहितको टिम रहे पनि असन्तुष्ट पक्षले यसमा विरोध गर्दै आएको छ ।

केन्द्रीय समिति बैठकमा उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, सकारको भूमिका, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषय एजेण्डा रहेको छ । कांग्रेसमा विधानत आगामी फागुनमा महाधिवेशन गर्नुपर्ने कांग्रेसको बैठक पुरानै महाधिवेशनको म्यान्डेटअनुसार भइसक्नुपर्ने विभाग गठन तथा संरचनालाई पूर्णता दिन सकेको छैन ।

कांग्रेसमा केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग नेतृत्वविहीन छन । कांग्रेस विधानमा टोल, ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश क्षेत्र, १६५ प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश गरी ८ तहका समितिको व्यवस्था छ । तर, परम्परागत जिल्ला समिति र केन्द्रीय समितिकबाहेक अरू संरचना बन्न सकेको छैन।