जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार ०८:२०

मौसम पूर्वानुमान : देशभरी हल्का वर्षा र भारी हिमपातको संभावना, सतर्क रहन आग्रह


काठमाडौं, मंसिर २७ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण आज पनि देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले आज सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको छ ।

शुक्रबार दिनभरी देशका सबै स्थानमा सामान्यदेखि पूर्ण रुपमा बदली हुने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी, पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात हुने छ । यता, मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्का हिमपात हुन सक्नेछ । साथै, पश्चिमी भूभागका केही स्थानमा हुरी आउन सक्छ । यसैगरी आज राति पनि देशैभरी बदलीको सम्भावना रहेको छ । पश्चिमी भेगका केही स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, पश्चिमी उच्च पहाडी र हिमाली भूभागहरुमा भारी हिमपात हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ । पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा पनि सामान्य हिमपात हुनेछ ।