रामेछाप, चैत २५ । रामेछापको खाँडादेवी गाउँपालिका–७ गाल्पामा रहेकाे राष्ट्रिय स्तरको तेक्वान्दो रंगशालाको निर्माणकार्य वर्षौँदेखि अलपत्र अवस्थामा परेको छ । राष्ट्रिय तेक्वान्दो आइटिएफ एकेडेमीसहित निर्माण गर्न लागिएको उक्त परियोजना अधुरै रोकिँदा करोडौँ रुपैयाँको सरकारी लगानी जोखिममा परेको छ ।
खाँडादेवी गाउँपालिकाको गाल्पा बजार नजिक केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहको संयुक्त लगानीमा १ करोड ११ लाख रुपैयाँको लागतमा एकेडेमी भवन निर्माण गरिएको थियो । भवनमा चेन्जिङ रुम, बाथरुम, कार्यालय कक्ष तथा इनडोर खेलका लागि हलको व्यवस्था गरिएको छ ।
खाँडादेवी, दोरम्बा शैलुङ र सुनापाती गाउँपालिकाले संयुक्त रूपमा प्रदेश तथा केन्द्र सरकारसमक्ष गाल्पामा राष्ट्रिय एकेडेमी निर्माणका लागि प्रस्ताव पेश गरेपछि सोही प्रस्तावअनुसार भवन निर्माण गरिएको थियो । तर, भवनसँगै निर्माण गरिनुपर्ने रंगशालाका लागि खारिएको जमिन भने लामो समयदेखि त्यत्तिकै छाडिएको छ । रंगशाला निर्माणको काम अघि नबढ्दा परियोजना अलपत्र अवस्थामा पुगेको स्थानीयवासीले बताएका छन् ।

एकेडेमी भवन निर्माण सम्पन्न भए पनि त्यसको संरक्षण तथा नियमित उपयोगका लागि कुनै प्रभावकारी व्यवस्था हुन सकेको छैन । यसका कारण भवनसमेत जीर्ण बन्दै जाने जोखिम बढेको छ ।
एकातिर एक करोडभन्दा बढी लागतमा निर्माण गरिएको संरचना प्रयोगविहीन अवस्थामा रहेको छ भने अर्कोतर्फ रंगशाला निर्माणको काम पनि रोकिएकाले राज्यको ठूलो लगानी खेर गएको छ ।
स्थानीयवासी तथा खेलप्रेमीहरूले निर्माणकार्यलाई यथाशीघ्र अघि बढाई रंगशालालाई पूर्णता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।













प्रतिक्रिया दिनुहोस्