जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार ०९:३६

वर्षासँगै उपत्यकामा चिसो बढ्यो, आज दिनभर पानी पर्ने सम्भावना


काठमाडौं, मंसिर २७

हिउँदे वर्षा शुरु भएसँगै उपत्यका लगायत पहाडी जिल्लामा वर्षा शुरु भएको छ । शुक्रबार बिहानदेखि काठमाडौंमा पानी परिरहेको छ भने देशका उच्चपहाडी भूभागमा हिमपात भएको हो ।

नेपालमा पश्चिमी वायुका कारण हिउँदे झरी र हिमपात हुने गर्छ । अफगानिस्तान र इरानमा बन्ने न्यूनचापीय वायु सुदुरपश्चिमबाट प्रवेश गरेपछि नेपालमा हिउँदे झरी र हिमपात पर्ने गर्छ । शुक्रबार दिनभरजसो नै काठमाडौं उपत्यकालगायत देशभर पानी तथा हिमपात पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । यतिखेर पहाडी क्षेत्रमा समेत पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ परिरहेको छ ।

देशको पश्चिमी भेगमा नै पश्चिमबाट भित्रिएको मौसम प्रणालीको बढी असर देखिएको छ । मौसम बदलीकै कारण आज पश्चिम क्षेत्रमा हावाहुरी चल्ने महाशाखाले जनाएको छ । मौसम बदलीको प्रभाव आइतबारसम्म कायम रहने महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ । पानी पर्न शुरु गरेपनि काठमाडौं उपत्यकाको तापक्रम भने बिहीबारको तुलनामा शुक्रबार बढेको छ ।

बिहिबार बिहान ७ दशमलव ७ डिग्री रहेको काठमाडौंको तापक्रम शुक्रबार बिहान ९ डिग्री सेल्सियस पुगेको छ । राती आकाशमा बादल लागेपछि बिहीबार दिउँसोको तापक्रम थुनिएकाले तापक्रम बढेको महाशाखाले जानकारी दिएको छ । तापक्रम बढेपनि चिसोको भने बढि महसुस भएको छ ।