जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार १०:३६

एन्ड्रे रसेललाई पछि पार्दै पारस टी–२० को वरियतामा ८ स्थानमाथी उक्लिए


काठमाडौं, मंसिर २७

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले टी–२० अलराउन्डरमा विश्वका केही हस्तीलाई पछाडी पार्न सफल भएका छन् । उनले नाम चलेका वेस्टइन्डिजका चर्चित खेलाडी एन्ड्रे रसेल, भारतका हार्दिक पाण्डेय लगायतलाई पछि पार्दै वरियतामा २५ औं स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले ११ डिसेम्बरमा जारी गरेको पछिल्लो वरीयतामा पारस टी–२० अलराउन्डर वरीयताको २५औँ स्थानमा उक्लिएका हुन् । गत महिना उनी ३३औँ स्थानमा रहेका उनि एकैपटक ८ स्थानमाथी उक्लिएका छन् । वरीयता सुधार गर्ने क्रममा पारसले ९० रेटिङ अंक पाएका छन् ।

वरीयतामा नेपालकै सोमपाल कामी भने ४७ रेटिङ अंकका साथ ६६औँ स्थानमा यथावत छन् । करण केसी अलराउन्डर वरीयतामा ओरालो लाग्दै ७४औँ स्थानमा पुगेका छन् । यसैगरी, टी–२० ब्याटिङ वरीयतामा पारस ६०औँ स्थानमा छन् । उनले ४३९ रेटिङ अंक जोडेका छन् । टी–२० बलिङमा सन्दीप लामिछाने ८३औँ स्थानमा छन् । उनको वरीयता परिवर्तन भएको छैन ।