जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार ११:५३

शहीद स्मारक ए डिभिजनलाई कतार एयरवेजको साथ


काठमाडौं, मंसिर २७

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्नेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप रु एक करोड ७० लाख उपलब्ध गराउनेछ । कतार एयरवेजले एन्फालाई दुई चरणमा रकम उपलब्ध गराउनेछ । एयरवेजले पहिलो चरणमा रु एक करोड दुई लाख तथा दोस्रो चरणमा रु ६८ लाख प्रदान गर्नेछ ।

यसवापत एन्फाले हरेक सहभागी टोलीको जर्सीमा कतार एयरवेजको लोगो प्रयोग गर्नुपर्नेछ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र एयरवेजका देशीय निर्देशक मोहमद इमानले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । एन्फा अध्यक्ष शेर्पाले कतार एयरवेजसितको सम्झौताले लिग आयोजना गर्न सहज भएको बताउनुभयो । प्रतियोगितामा सहभागी हुने क्लबलाई तयारीस्वरुप प्रतिक्लब रु २० लाख उपलब्ध गराउने अध्यक्ष शेर्पाले बताउनुभयो ।

भोलीदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगमा १४ क्लब खेल्दैछन् । लिगको पुछारमा रहने एउटा टोलीको घटुवा हुनेछ । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचौंले रु सात लाख र छैटौ हुनेले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । हरेक खेलको विजेताले रु ५० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ ।

यस्तै प्रतियोगिताका उत्कृष्ट पाँच स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकीपर र प्रशिक्षकले जनही रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई रु १० हजार तथा प्रतियोगिताको फेयर प्ले टिमले रु एक लाख पुरस्कार पाउनेछ । लिगको उद्घाटन खेल दशरथ रङ्गशालामा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुनेछ ।