जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार ११:५८

साताका चर्चित घुसकाण्ड : यसरी अख्तियारको फन्दामा परे प्रजिअदेखि नेपाल प्रहरीका यी अधिकृत


काठमाडौं, मंसिर २७ । पछिल्लो घटनाले सरकारी कर्मचारीमा घुसखोरी प्रबृत्ति कायमै रहेको तथ्य बाहिर ल्याएको छ । एक सातायता घुस प्रकरणमा जोडिएका आधा दर्जन भन्दा घटना सार्वजनिक भएपछि यस्तो तथ्य बाहिर आएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित धमधम कर्मचारी पक्राउ गर्न थालेको छ । यस साता घुस लेनदेनमा एक प्रमुख जिल्ला अधिकारी पनि निलम्बनमा परेका छन्।

दोलाखाका तत्कालीन प्रजिअ खगेन्द्र रिजाल घुसकाण्डमै मुछिएर अहिले निलम्वित भएका हुन। सार्वजनिक मुद्दा मिलाउने नाममा पीडकसँग बढी पैसा लिएको आरोपसहितको समाचार सार्वजनिक भएसँगै रिजाललाई गृह मन्त्रालयले काठमाडौं तानेको थियो। अख्तियारले निर्देशन दिएसँगै रिजाललाई गृहमन्त्रालयले मंगलबार नै निलम्बन गरेको छ। निमल्बनमा परेका रिजालमाथि भ्रष्टाचारको मुद्दा पनि अघि बढेको छ। यस्तै यसै साता २० लाखसिहत २ इन्जिनियर पक्राउ परेका छन ।

अख्तियारले मंगलबार सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठ घुस लिँदालिँदै पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई करिब २० लाख रुपैयाँ घुससहित नयाँबानेश्‍वरको एलिनाज बेकरीबाट पक्राउ गरेको थियो । क्याफेमा घुस लिँदालिँदै उनीहरूलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो । निर्माण कामका लागि सेवाग्राहीसँग रनिङ बिल भुक्तानी गरिदिएबापत २० लाख घुस लिँदालिँदै उनीहरू पक्राउ परेका हुन्।

योसाता जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रहरी पनि घुससहित पक्राउ परेका छन । मंगलबारै सर्लाहीको त्रिभुवन नगरस्थित प्रहरी चौकीमा कार्यरत दुईजना प्रहरी ५० हजार रुपैयाँ घुससहित समातिए। प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र जवान मनोजकुमार यादवले भारतबाट नेपालतर्फ तस्करीका सामान ल्याउँदा भित्र्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेका बेला अख्तियारको फन्दामा परेका हुन्। घुस लिएकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दीबासबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। सिंह र यादवले सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नम्बर(४ स्थित सगरमाथा बोर्डिङ स्कुल परिसरमा सेवाग्राहीसँग घुस बुझिरहेका थिए।

अख्तियारले मंगलबारै सप्तरीको महादेवा गाँउपालिका ६ का वडा सचिव घुससहित पक्राउ परेको छ । नायव सुब्बा पदका नबोनाथ मिश्राले जन्मदर्ता प्रमाण(पत्र बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। घुस मागेको उजुरी परेपछि पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले मिश्रालाई २० हजार घुस वापदको रकमसहित राजबिराज नगरपालिका २ तित्रीगाछीबाट पक्राउ गरेको छ।
यस्तै बुधबार प्रहरी निरीक्षक (इन्सपेक्टर) जयनेपाल थापा घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगको टोलीले ललितपुरको पाटनबाट घुससहित नियन्त्रणमा लिएको हो। वैदेशिक रोजागरीको प्रयोजनका लागि ४० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नेपाल प्रहरीका निरीक्षक थापालाई पाटनबाट पक्राउ गरेको हो। अख्तियारले मंसिर २२ गते इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त केसीलाई सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिएबापत सेवाग्राहीसँग घुस मागेको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले केसीलाई पक्राउ गरेको हो।