जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार १३:३४

पुस ११ देखि २० सम्म बागलुङ महोत्सव हुने


बाग्लुङ, मंसिर २७

छैटौँ बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ । व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा केन्द्रित महोत्सव आगामी पुस ११ देखि २० गतेसम्म चल्नेछ । प्याराग्लाइडिङ, हेलिकोप्टर शयर, पुरुष तथा महिला भलिबल, लोकदोहोरी, भजनलगायतका प्रतियोगिता महोत्सवका आकर्षण हुन् । महोत्सवकै अवसर पारेर आगामी पुस १० गते ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ शीर्षकमा आर्थिक बहससमेत हुँदैछ ।

लगानी सम्भावना औँल्याउन आयोजित बहस कार्यक्रममा सरकारका प्रतिनिधिसहित ठूला उद्योगी, व्यवसायी सहभागी हुनेछन् । नेपाल भ्रमण वर्षको शुभारम्भसमेत महोत्सवस्थलबाटै गरिने आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । “भ्रमण वर्षको शुभारम्भ समारोहसहित जनवरी १ मा जिल्ला भित्रने पर्यटकलाई नाकामा स्वागत गर्ने कार्यक्रम छ”, सङ्घका महासचिव नरेश कँडेलले भन्नुभयो । महोत्सवमा कृषि, जडीबुटी, हस्तकलालगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष राखिने भएको छ ।

जिल्लाको पहिचान झल्कने कला, संस्कृति र फोटोको प्रदर्शनीसमेत आयोजना गरिएको छ । परम्परागत सांस्कृतिक झाँकी पनि महोत्सवको आकर्षणका रुपमा रहनेछन् । महोत्सवस्थलमा दुई सयभन्दा बढी व्यापारिक कक्ष रहने जनाइएको छ । “जिल्लाका घरवासमा पाइने मौलिक खानाका परिकार उपलब्ध गराउँदैछौँ”, महासचिव कँडेलले भन्नुभयो । महोत्सव सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालन गरिनेछ ।