काठमाडौं, मंसिर २८ । शुक्रबार दिउँसोदेखि सुरू भएको वर्षा काठमाडौं उपत्यकामा रातभरि भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अहिले पनि सामान्यदेखि पूर्ण बदली रही पश्चिममा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा र मध्य तथा पू्र्वमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाले शनिबार बिहान छ बजे जारी गरेको बुलेटिन अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशको मध्य र पश्चिमी क्षेत्रका पहाडी भूभाग र पूर्वी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ । काठमाडौंको बिहान ५स्४५ मा मापन गरिएको तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस रहेको जनाइएको छ । रातभर कतै वर्षा र कतै हिमपात हुँदा चिसो बढेको छ ।
शुक्रबार रातभर पनि कतै वर्षा र कतै हिमपात हुँदा चिसो बढेको छ। शनिबार दिनभर पनि मौसम बदलीकै अवस्थामा रहने छ । मध्य र पश्चिमी भूभागमा दिनभर आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै पूर्वी क्षेत्रमा सामान्य बदलीको अवस्था रहने मौसमविदले बताएका छन् ।
मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षा हुने जनाइएको छ । उच्च पहाडी र हिमाली क्षखेत्रमा हल्कादेखि मध्यम हिमपात हुने जनाइएको छ ।
शनिबार राति देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने जनाइएको छ । बुधबार अधिकतम तापक्रम ११ डिग्री सेल्सियस मात्रै पुगेकाले काठमाडौँमा निकै जाडो भएको थियो । तर शनिबार अधिकतम तापक्रम बढ्ने अनुमान छ । उपत्यकाका नगरकोट, फुलचोकी, चम्पादेवी, चन्द्रागिरिलगायत क्षेत्रमा हिमपात भएको छ । पश्चिमी क्षेत्रका जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्