जनता टाइम्स

२८ मंसिर २०७६, शनिबार ११:४८

पौडेल मनाउन निवासमै पुगे सभापति देउवा


काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उहाँकै निवास बोहोराटार पुग्नुभएको छ । उपसभापति विमलेन्द्र निधिलाई साथमा लिएर सभापति देउवा पौडेल निवास बोहराटार पुग्नुभएको हो ।

शीर्ष दुई नेता आफ्नो निवासमा आएको जानकारी गराउँदै वरिष्ठ नेता पौडेलले ‘पार्टी सहमति र सहकार्यमा सञ्चालन गर्नुपर्ने बारे छलफल’ भएको जानकारी दिनुभयो । पार्टीमा सभापति देउवाले अधिनायकवाद लादेको भन्दै केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि छलफलका लागि देउवा पौडेलको निवासमा पुग्नुभएको हो । महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने अडान राखेको पौडेल पक्षसँग संस्थापनको सम्बन्ध चिसिएको छ। तल्लो तहका कार्यसमिति गठन नभइ महाधिवेशनको कार्यतालिका ल्याउन नसकिने संस्थापन पक्षको तर्क छ।

बिहीबार प्रस्ताव भएको केन्द्रीय विभागका संख्याप्रति पनि पौडेल पक्षको आपत्ति रहेको छ। देउवाले विभाग बढाएर ४१ पुर्‍याउनु भएको छ । छलफलका लागि पेश गरिएका एजेण्डामा कार्यतालिका समावेश नभएपछि पौडेल पक्षले बैठक बहिष्कार गरेको थियो। आन्तरिक सहमतिका लागि दुई दिन रोकिएको बैठक आइतबार पुनः बस्नेछ। सोही बैठकको एजेण्डाको बिषयमा सहमति जुटाउन पौडेल निवासमा देउवा पुग्नुभएको हो ।