रामेछाप, वैशाख १३ । रामेछापकाे लिखु तामाकोशी गाउँपालिका–२ सैपुस्थित चण्डेश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रथम वडा अध्यक्ष कप खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगाकाे लिखु गाउँपालिका–६ खाल्टेले जितेको छ। प्रतिस्पर्धात्मक फाइनल खेलमा खाल्टेले ओखलढुंगाकाे लिखु गाउँपालिका–७ गाम्नाङटारलाई २–१ सेटले पराजित गर्दै उपाधि हात पारेको हो।
रोमाञ्चक बनेको फाइनलमा खाल्टेले पहिलो सेट २६–२८ ले गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २६–२४ र तेस्रो सेट २५–२३ ले जित्दै च्याम्पियन बन्न सफल भयो। विजेता खाल्टेले नगद रु १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
उपविजेता बनेको गाम्नाङटारले नगद रु ६० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा ओखलढुंगाकाे चम्पादेवी गाउँपालिका–२ पलापुले खानीखोला गाउँपालिका–७ काभ्रेलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। पलापुले नगद रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना स्थानमा रहेको खानीखोलाले नगद रु १५ हजारसहित प्रमाणपत्र पाएको छ।
फाइनलअघि सम्पन्न सेमिफाइनल खेलमा गाम्नाङटारले पलापुलाई तथा खाल्टेले खानीखोलालाई पराजित गर्दै उपाधि भिडन्त तय गरेका थिए।
व्यक्तिगत विधातर्फ गाम्नाङटारका विक्रम श्रेष्ठ उत्कृष्ट सेटर, खानीखोलाका महेश स्याङ्तान उत्कृष्ट ब्लकर र खाल्टेका कृष्ण थापा उत्कृष्ट सर्भर घोषित हुनुभयो। त्यसैगरी गाम्नाङटारका प्रकाश पौडेल उत्कृष्ट स्पाइकर र पलापुका निरोज मगर उत्कृष्ट लिब्रो घोषित हुनुभयो। सबै उत्कृष्ट खेलाडीहरूले ट्रफीसहित जनही रु १ हजार नगद प्राप्त गर्नुभयो।

प्रतियोगितामा खाल्टेका सन्देश मगर सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु २ हजारसहित ट्रफी हात पार्नुभयो भने खाल्टेकै मिलन भट्टराई उत्कृष्ट प्रशिक्षक घोषित हुँदै नगद रु १ हजारसहित ट्रफी प्राप्त गर्नुभयो।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतको प्रमुख आतिथ्यतामा आयोजित समापन समारोहमा नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दीपा पाख्रिन लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
वैशाख १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा रामेछाप, ओखलढुङ्गा र काभ्रे जिल्लाका गरी १६ वटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने रु ५ हजारभन्दा बढी सहयोग गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।
साेही कार्यक्रममा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन समेत गरिएकाे थियाे । कार्यक्रममा साे वडाका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान पनि गरिएकाे थियाे ।













प्रतिक्रिया दिनुहोस्