जतिसुकै तर्क वा बहश गरेपनि सत्य त लुकाउन सकिन्न । इतिहासले मूल्यांकन त हामीले कतिजनाको मनमा ’प्रेम’ को बीउ रोप्न सक्यौँ भनेर नै गर्नेछ।
– डा. टीका ढकाल
आजको समय एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ मानिसको हृदय ’प्रेम’ खोजिरहेको छ, दिमाग ’प्रविधि’ मा अल्झिएको छ र भविष्य ’राजनीति’ को दाउपेचमा बन्धक बनेको छ । हामी यस्तो विचित्र संसारमा छौँ जहाँ प्रविधिले दूरी त मेटायो, तर दुईवटा मुटुबीचको साँचो सामिप्य भने अझै टाढा धकेलिदियो । हिजो प्रेममा ’प्रतिक्षा’ हुन्थ्यो, आज केवल ’नोटिफिकेसन’ हुन्छ । हिजो राजनीतिमा ’निष्ठा’ हुन्थ्यो, आज केवल ’अल्गोरिदम’ हुन्छ । हिजो प्रेममा सवथोक थियो, आज प्रेममा पनि बलात्कार हुन्छ ।
प्रविधिले हाम्रो प्रेम गर्ने तरिका नै बदलिदियो । हिजोका ती दिनहरू सम्झिऔँ, जब प्रेममा एउटा सानो स्पर्श वा आँखाको इसारा नै काफी हुन्थ्यो । आज प्रेम ’डिजिटल स्क्रिन’ मा मुस्कुराउँछ । हामी घण्टौँसम्म भिडियो कलमा त बस्छौँ, तर मोबाइलको नेटवर्क काटिनेबित्तिकै मनको नेटवर्क पनि काटिएझैँ महसुस हुन्छ। प्रविधिले हामीलाई एउटा यस्तो सुविधा दियो कि हामी संसारको जुनसुकै कुनामा भए पनि एकअर्कालाई देख्न सक्छौँ, तर सँगै बसेर एकअर्काको मौनतालाई सुन्ने फुर्सद भने हामीसँग छैन। के यो विडम्बना होइन र ? आर्टिफिसियल इन्टेलिजेन्सले रुची त बताइदिन सक्छ, तर आँखामा लुकेको त्यो एउटा थोपा आँसुको मर्म बुझ्न सक्दैन। प्रेम त त्यो एउटा ’रोमान्टिक’ अनुभूति हो, जुन कुनै पनि कोडिङ वा सफ्टवेयरले सिर्जना गर्न सक्दैन।
यहीँनेर राजनीतिले हाम्रो जीवनमा हस्तक्षेप गर्छ। राजनीति केवल झण्डा बोक्नु वा भोट हाल्नु मात्र होइन, यो त बाँच्ने समाजको नीति हो। तर आजको राजनीति पनि प्रविधिजस्तै ’भर्चुअल’ बन्दै गएको छ। नेताहरू जनताको मनमा होइन, फेसबुकको ’न्युज फिड’ मा बस्न रुचाउँछन्। साँचो जनसेवा भन्दा पनि ’भाइरल’ हुने होडबाजीले गर्दा समाजमा प्रेम र सद्भाव हराउँदै गएको छ। राजनीतिले मानिसहरूलाई कित्ताकाट गरिदिएको छ। हामी कसैको विचार मन नपर्नेबित्तिकै उसलाई ’अनफ्रेन्ड’ वा ’ब्लक’ गरिदिन्छौँ। हिजो फरक विचार बोकेर पनि एउटै चौतारीमा बसेर चिया खाने हाम्रो संस्कारलाई प्रविधि र राजनीतिको धु्रवीकरणले निल्दै लगेको छ।
प्रेम, राजनीति र प्रविधिको यो त्रिकोणात्मक सम्बन्धमा मानिस भने एक्लो हुँदै गएको छ। हामीसँग स्मार्ट घर छ, तर त्यहाँ बस्ने मानिसहरूको मनमा ’स्मार्टनेस’ भन्दा बढी ’इगो’ छ। हामीसँग संसारका सबै सूचना दिने इन्टरनेट त छन, तर आफ्नो छिमेकीको पीडा बुझ्ने संवेदना छैन। राजनीतिले हामीलाई ’नागरिक’ बनाउन खोज्यो, प्रविधिले ’उपभोक्ता’ बनायो, तर यो कोलाहलमा हामी ’मानिस’ बन्न भने कताकता चुकेझैँ लाग्छ।
साँचो रोमान्स त त्यो हो, जहाँ प्रविधिको पहुँच नहुँदा पनि विश्वास अटुट रहन्छ। साँचो राजनीति त्यो हो, जहाँ प्रविधिको प्रयोग मानिसहरूलाई फुटाउन होइन, जुटाउन गरिन्छ। हामीले बुझ्नुपर्छ कि एउटा रोबोटले कविता लेख्न सक्छ, तर त्यो कविता पढ्दा हुने अनुभूति केवल मानव हृदयले मात्र गर्न सक्छ। एउटा सफ्टवेयरले चुनाव जिताउन मद्दत गर्ला, तर जनताको साँचो माया पाउन त धर्तीमै ओर्लिनुपर्छ।
त्यसैले, यो आधुनिक युगको यात्रामा हिँड्दै गर्दा आफ्नो ’ह्युमन टच’ लाई मर्न नदिऔँ। बेलुकीको समयमा मोबाइलको ’डाटा’ बन्द गरेर आफ्ना प्रियजनको हात समातेर हेरौँ, त्यहाँ जुन ऊर्जा र सन्तोष मिल्छ, त्यो कुनै पनि ५–जी (५न्) नेटवर्कले दिन सक्दैन। राजनीतिलाई समाज बदल्ने प्रेमको एउटा माध्यम बनाऔँ, न कि घृणा फैलाउने हतियार। र प्रविधिलाई हाम्रो दास बनाऔँ, आफू त्यसको दास नबनौँ।
अन्त्यमा, जीवन एउटा सुन्दर क्यानभास हो। यसमा प्रविधिको रङ भर्ने राजनीतिको फ्रेम बनाउ र चित्र भने ’प्रेम’ कै होस बनाउन किनकि संसार जतिसुकै आधुनिक र डिजिटल भए पनि, दुई मुटुको धड्कन र एउटा साँचो प्रेमको कथा नै यो सृष्टिको सबैभन्दा ठूलो सत्य हो। याद राखौँ, भोलि इतिहासले हामीले कतिवटा ’लाइक’ पायौँ भनेर होइन, हामीले कतिजनाको मनमा ’प्रेम’ को बीउ रोप्न सक्यौँ भनेर मूल्याङ्कन गर्नेछ।













प्रतिक्रिया दिनुहोस्