काठमाडौं, भदौ २० । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत नेपाल–चीन सीमाको गिरोङ क्षेत्रमा आएको बाढी र पहिरोमा परी ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ। स्थानीय विपद् व्यवस्थापन तथा उद्धार केन्द्रका अनुसार शुक्रबार साँझसम्म ५३१ जना अझै बेपत्ता रहेका छन्।
अगस्ट २६ मा हिमाली क्षेत्रमा बरफ–चट्टानसहितको पहिरो खसेपछि नदीमा आएको बाढीले गिरोङ बन्दरगाह क्षेत्रका भवन, विद्युत् संरचना तथा जी–२१६ राजमार्गको केही भागमा क्षति पुर्याएको थियो। सडक तथा भौतिक संरचना क्षतिग्रस्त हुँदा उद्धार तथा राहत कार्यमा समेत कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।
उद्धारका क्रममा प्रभावित क्षेत्रबाट ९८७ वटा व्यक्तिगत सामान फेला पारिएको छ। सम्भावित थप विपद्को जोखिम पहिचानका लागि प्रभावित तीन गाउँको निरीक्षण तथा जोखिम मूल्याङ्कनसमेत गरिएको छ। दुई स्थानमा अस्थायी आपत्कालीन आश्रयस्थल निर्माणका लागि स्थान छनोट गरिएको छ।
जोखिम न्यूनीकरण तथा उद्धारका लागि मौसम, जलस्रोत, प्राकृतिक स्रोत र आपत्कालीन व्यवस्थापनसम्बन्धी निकायका अधिकारीसहित १७२ जना विज्ञ तथा प्राविधिक परिचालन गरिएको छ।
चीनले उद्धारका लागि करिब २ हजार ३०० उद्धारकर्मी, ४०० भन्दा बढी खोज तथा उद्धार सवारीसाधन, ८ हजारभन्दा बढी उपकरण, ८०० भन्दा बढी ड्रोन उडान र २४ हेलिकोप्टर उडान परिचालन गरेको जनाएको छ।
दुर्गम तथा जोखिमपूर्ण भूगोलका कारण उद्धार टोली केही क्षेत्रमा करिब १२ घण्टा पैदल यात्रा गरेर प्रभावित स्थानसम्म पुगेका थिए। सिन्ह्वाका अनुसार सम्भावित द्वितीयक विपद्को जोखिमलाई समेत ध्यानमा राख्दै खोज तथा उद्धार अभियान जारी राखिएको छ।














प्रतिक्रिया दिनुहोस्