जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार ०९:५६

नेकपाको स्थायी समिति बैठक आज, सभामुखको टुंगो लगाउनेदेखि जनतामाझ जाने यस्ता छन मुख्य एजेण्डा


काठमाडौं, मंसिर २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एक वर्षपछि आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले पार्टीको कामलाई गति दिन आज स्थायी समिति बैठक बोलाउनु भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुवै अध्यक्षले बैठकको तयारीका लागि आवश्यक गृहकार्य पूरा गर्नुभएको छ ।

बैठकका एजेन्डा बारेमा ओली र प्रचण्डले शनिबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गर्नुभएको थियो । राजनीतिक तथा सांगठनिक प्रतिवेदन अध्यक्ष प्रचण्डले तयार गर्नुभएको छ । प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम, वर्तमान राजनीतिक परिस्थिति, उपनिर्वाचनको समीक्षा, सरकारको काम, पार्टी संगठन परिचालनलगायतका समसामायिक विषय समेटिएको छ ।

नेता वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्तुत गर्ने गरी विधान संशोधन प्रस्ताव, केन्द्रीय विभागहरूको पूर्णता र पोलिटब्युरो गठन, सचिवालयले अहिलेसम्म गरेका निर्णयहरूको अनुमोदन, केन्द्रीय कमिटी बैठकको मितिलगायतका विषयलाई एजेन्डा बनाउने गरी ओली र प्रचण्डले गृहकार्य गर्नुभएको हो । आजै बस्ने सचिवालय बैठकले स्थायी समिति बैठकको एजेन्डालाई अन्तिम रूप दिनेछ । २६ र २७ मंसिरमा बोलाइएको सचिवालय बैठक आवश्यक तयारी पूरा नभएको भन्दै स्थगित भएको थियो ।

स्थायी समितिपछि सभामुखको टुंगो

नेकपाको स्थायी समिति बैठकपछि प्रतिनिधिसभाको सभामुख टुंगो लाग्ने भएको छ । सभामुखका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फे, पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वमन्त्री अग्नि सापकोटाको नाम चर्चामा छ । तुम्बाहाम्फे र नेम्वाङ पूर्वएमाले एवं सापकोटा पूर्वमाओवादी पृष्ठभूमिका हुनुहुन्छ ।

१५१ सदस्यीय उपत्यका विशेष प्रदेश प्रस्ताव

नेकपाले एक सय ५१ सदस्यीय उपत्यका विशेष प्रदेश कमिटी गठन गर्ने भएको छ । साबिक एमालेबाट ८५ तथा माओवादीबाट ६६ जना रहने गरी विशेष प्रदेशका अध्यक्ष डा राजन भट्टराई र सचिव लेखनाथ न्यौपानेले महासचिव विष्णु पौडेललाई नामावली बुझाउनुभएको छ । सचिवालयले अनुमोदन गरेलगत्तै उपत्यका प्रदेश कमिटी गठन हुनेछ । उपत्यका विशेष प्रदेश इन्चार्ज लिलामणि पोखरेल तथा सहइन्चार्ज अरुण नेपाल हुनुहुन्छ ।