जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार १२:१६

नेकपाले तय गर्यो स्थायी कमिटी बैठकको पाँच एजेण्डा


काठमाडौं, मंसिर २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डा तय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार सचिवालय बैठकले अध्यक्ष प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन स्थायी कमिटीमा लैजाने, विधान संशोधन, अर्को केन्द्रीय कमिटी बैठक, नेपाल भारत सीमा समस्या र विविध विषयलाई स्थायी कमिटीको एजेण्डा तय गरिएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुभयो । तर उहाँ पुरै समय बैठकमा बस्नुभएन ।

नेकपामा दुई अध्यक्षको कार्यबिभाजन गरी प्रचण्डलाई पार्टीको अध्यक्षता गर्ने अधिकार दिने निर्णय भएपछि ओली पहिलो पटक सचिवालय बैठकमा सहभागी हुनुभएको हो । स्वास्थ्यका कारण यसअघि ओली बैठकमा सहभागी हुनुभएको थिएन । आज पनि केही समय बैठकमा सहभागी भई प्रधानमन्त्री ओली बाहिरिनु भएको थियो । बैठकमा उहाँले आफ्नो स्वास्थ्य अवस्थाका विषयमा सचिवालय सदस्यलाई जानकारी गराउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी गराउनु भएको थियो । बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग सबै विषयमा सल्लाह भएको जानकारी गराई चिकित्सकको सुझावअनुसार आराम गर्नुपर्ने जनाई पुरा समय बैठकमा बस्न नसक्ने जानकारी गराउनु भएको थियो ।