काठमाडौं, मंसिर २९ । नेपाल प्रहरीको सवैभन्दा भरोसायोग्य कार्यालय महानगरीय प्रहरी अपराध महाशाखा पछिल्लो समय घुसखोरीको अड्डा बन्दै गएको तथ्य बाहिर आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सातामै दुई प्रहरी अधिकृतलाई पक्राउ गरेपछि अपराध महाशाखा घुसखोरीको अड्डा बन्दै गएको तथ्य उजागर भएको हो ।
एक सातामा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत दुई प्रहरी घुसकाण्डमा समातिएका हुन । अख्तियारले बुधबार प्रहरी निरीक्षक (इन्सपेक्टर) जयनेपाल थापालाई घुससहित पक्राउ गरेको थियो । थापा ४० हजार घुससहित खुमलटारबाट पक्राउ परेका हुन । थापा पक्राउ परेको पर्सिपल्ट शुक्रबार अपराध महाशाखामै कार्यरत प्रहरी सहायक निरीक्षक (असई) उमेश केसीलाई अख्तियारले पक्राउ गरेको हो ।
असई केसीलाई बार्गेनिङ गरिरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो । एक अभियुक्तको मुद्दा मिलाइ दिने भन्दै ६० लाख रुपैयाँ घुस मागेको अभियोगमा असई केसीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । स्रोतका अनुसार नख्खु कारागारमा बलात्कारसम्बन्धी मुद्दामा सजाय भोगिरहेका एक अभियुक्तकी श्रीमतीसँग मुद्दा मिलाइदिने भन्दै घुस मागेको अडिओ फेला परेपछि केसीलाई अख्तियारले शुक्रबार पक्राउ गरी हिरासतमा राखेको हो ।
असई केसी महाशाखाबाट केन्द्रीय कारागार सुन्धाराको सुरक्षामा खटिएका प्रहरी अधिकृत हुन । पछिल्लो समय धमाधम घुस काण्डमा अपराध महाशाखाका अधिकृत समातिएपछि सो महाशाखाका प्रमुख एसएसपी सहकुल थापामाथि नै नैतिक प्रश्न उठेको छ ।
प्रतिक्रिया दिनुहोस्