जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार १३:४०

नेकपाको स्थायी कमिटी बैठक सुरु, यी हुन एजेण्डा


काठमाडौं, मंसिर २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा केहीबेर अघि बैठक सुरु भएको हो ।

नेकपाका स्थायी कमिटी बैठक गत बर्षको आजकै दिन बसेको थियो । त्यसयता सरकारको काम र पार्टी एकताको काममा समय दिनुपरेको भन्दै स्थायी कमिटी बैठक बस्न सकेको थिएन । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको अध्यक्षतामा सुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली भने स्वास्थ्यको कारण उपस्थित हुनुभएको छैन । बैठकको अध्यक्षता गर्दै अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले हालसम्मको कामबारे संक्षिप्त ब्याख्या गर्नुभएको छ । स्थायी कमिटी बैठकमा पाँच वटा एजेण्डा रहेका छन ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार सचिवालय बैठकले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटी बैठक, नेपाल भारत सीमा समस्या र विविध विषयलाई स्थायी कमिटीको एजेण्डा तय गरिएको छ ।

आज बिहान बसेको सचिवालय बैठकले सो एजेण्डा तय गरेको थियो । नेकपामा दुई अध्यक्षको कार्यबिभाजन गरी प्रचण्डलाई पार्टीको अध्यक्षता गर्ने अधिकार दिने निर्णय भएपछि आज बसेको स्थायी कमिटीको पहिलो बैठक हो ।