जनता टाइम्स

२६ बैशाख २०८३, शनिबार ०६:४४

पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण : ‘सर्वसाधारणलाई जोखिम कम’ – डब्ल्यूएचओ


काठमाडौं,  वैशाख २६। एटलान्टिक महासागरमा यात्रा गरिरहेको एउटा पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण फैलिएको घटनाले अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले सर्वसाधारणमा यसको जोखिम अत्यन्त कम रहेको जनाएको छ ।

डब्ल्यूएचओले यो भाइरस सामान्य रूपमा सजिलै नसर्ने र मुख्यतः अत्यन्त नजिकको सम्पर्कबाट मात्र फैलिने भएकाले व्यापक महामारीको खतरा नरहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

डब्ल्यूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले स्विट्जरल्यान्डको जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा हान्टा भाइरस गम्भीर र घातक हुन सक्ने भए पनि यसको सङ्क्रमण क्षमता सीमित रहेको बताउनुभयो । उहाँका अनुसार यो भाइरस सङ्क्रमित व्यक्तिको अत्यन्त नजिकमा लामो समय बस्ने मानिसहरूमा मात्र सर्ने सम्भावना धेरै हुन्छ ।

अर्जेन्टिनाको उशुआइयाबाट केप भर्डेतर्फ जाँदै गरेको बेलायती पानीजहाज ‘एमभी होन्डियस’ मा देखिएको सङ्क्रमणले विभिन्न देशका स्वास्थ्य निकायलाई सतर्क बनाएको छ ।

जहाजमा अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ भने डब्ल्यूएचओको पछिल्लो विवरणअनुसार पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । थप तीन जनामा सङ्क्रमणको आशङ्का गरिएको छ र उनीहरूको परीक्षण तथा निगरानी भइरहेको खबरमा उल्लेख छ ।

जहाजमा सङ्क्रमण कसरी शुरू भयो भन्नेबारे अनुसन्धान चलिरहेको छ । स्वास्थ्य अधिकारीहरूले यात्रुहरूको गतिविधि, उनीहरूको सम्पर्क इतिहास तथा जहाजमा रहेका सम्भावित सङ्क्रमण स्रोतबारे अध्ययन गरिरहेका छन् ।

डब्ल्यूएचओले सदस्य राष्ट्रहरूलाई सतर्क रहन आग्रह गरे पनि तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको जनाएको छ । सङ्गठनले तथ्यमा आधारित स्वास्थ्य सतर्कता अपनाउन र अफवाह तथा अतिरञ्जित सूचना फैलिन नदिन पनि आग्रह गरेको छ ।