जनता टाइम्स

२८ बैशाख २०८३, सोमबार ०९:१४

ट्रम्पले गरे इरानको प्रस्ताव ठाडै अस्वीकार, फेरि मडारियो युद्धको कालो बादल


काठमाडौं, बैशाख २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न इरानले दिएको पछिल्लो प्रस्तावलाई सिधै अस्वीकार गर्नुभएको छ ।

इरानको १४ बुँदे प्रस्तावमा नौसैनिक नाकाबन्दी अन्त्य हुनुपर्ने, अमेरिका र अन्तर्राष्ट्रिय संस्थाहरूले लगाएका प्रतिबन्ध हटाइनुपर्ने, साथै आफ्नो आणविक कार्यक्रम र वैदेशिक नीतिमाथि आफ्नै नियन्त्रण कायम रहनुपर्ने रहेका अलजजिराले जनाएको छ । जबकी यी सबै विषयहरूनै वाशिङ्टनले यो युद्ध सुरु गर्नुको कारणका रूपमा उल्लेख गरेको छ।

ट्रम्पले यो सम्झौता किन अस्वीकार गरे भन्ने स्पष्ट रूपमा बताएका छैनन्। तर इरानले उठाएका हरेक विषय अमेरिकाले कुनै पनि हालतमा सम्झौता गर्न नचाहेको बिन्दुसँग जोडिएको देखिन्छ। इरानले बार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानमार्फत आफ्नो प्रस्ताव पठाएको थियो । ह्वाइट हाउसले सो प्रस्ताव ठाडै अस्वीकार गरेको हो ।

यो घटनासँगै मध्यपूर्वमा फेरि युद्धको बादम मडारिएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरान युद्ध र अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्न बुधबार साँझ बेइजिङ पुग्दै हुनुहुन्छ। उहाँले त्यहाँ चिनियाँ समकक्षी सी जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।

ह्वाइट हाउसकी प्रमुख उपप्रेस सचिव अन्ना केलीका अनुसार बिहीबार बिहान उद्घाटन समारोह र मुख्य बैठक हुनेछ भने ट्रम्पको यो भ्रमण शुक्रबार समापन हुनेछ। अमेरिकाले यसै वर्षको अन्त्यतिर चिनियाँ नेता सीलाई पनि आफ्नो देशमा स्वागत गर्ने योजना बनाएको छ।