जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार १६:०४

धनकुटा दुर्घटनामा २ जनाको मृत्यु, २ घाइते


धनकुटा, मंसिर २९ । कोशी राजमार्ग अन्तर्गत धनकुटाको छथर गाउँपालिका वडा नं. २ मा आज अपरान्ह दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् ।

को. १ ह ६६११ नम्बरको टेम्पो र को. १ ख ६९१२ नम्बरको लोबेड ट्रक एक आपसमा ठोकिदा धनकुटा नगरपालिका वडा नं. २ बस्ने टेम्पो चालक बर्ष २५ को दशरथ पाख्रिन र नेपाल टेलिकमको कर्मचारी बर्ष ४५ को साङ्गे शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार छथर गाउँपालिका वडा नं. २ का रविन घिमिरे र लालिगुरास नगरपालिका वडा नं. ५ बस्ने बर्ष २५ को प्रदिप बस्नेत घाइते छन् । घाइते मध्ये बस्नेतको टाउँकोमा चोट लागेकोले उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला अस्पताल पठाइएको छ भने घिमिरेको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालक ज्ञान बहादुर र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।