जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार १६:५३

बाल संरक्षणको नाममा गलत काम भए सैह्य नहुने मन्त्री गुरुङको चेतावनी


काठमाडौं, मंसिर २९ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बाल संरक्षणको नाममा गलत खालका गतिविधि गर्नेमाथि कडा कार्वाही गर्ने बताउनु भएको छ ।

मन्त्री गुरुङले बाल संरक्षणको क्षेत्रमा राम्रो काम गर्नेलाई पुरस्कृत र गलत खालका गतिविधि गर्नेलाई कार्वाही गर्ने नीतिलाई कडाईका साथ लागू गर्ने पनि स्पष्ट पार्नु भयो । आईतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सिविन नेपालका पदाधिकारीहरुसँगको सामूहिक भेटमा उहाँले दीगो विकास लक्ष्य हासिल हुनेगरी बाल अधिकारको क्षेत्रमा काम गर्न आवश्यक कानुन, नियमावली र निर्देशिका संशोधन गर्ने कामलाई पनि सरकारले तीव्रता दिएको बताउनु भयो ।

‘बाल अधिकार र संरक्षणको क्षेत्रमा राम्रो काम गर्नेलाई पुरस्कृत र गलत खालका गतिविधि गर्नेलाई सरकारले कडा कार्वाही गर्नेछ, मन्त्री गुरुङले भन्नु भयो, ‘बालबालिका, महिला र ज्येष्ठ नागरिकको हित हुनेगरी आवश्यक सबै कानुन, नियमावली र निर्देशिका बनाउने कामलाई सरकारले तीव्रता दिएको छ ।’ मन्त्री गुरुङले बाल हितको क्षेत्रमा काम गर्ने संघ, संस्थासँग सहकार्य गरेर अघि बढन सरकार तयार रहेको बताउनु भयो ।

भेटमा सिविन नेपालका अध्यक्ष माधव प्रधानले बाल अधिकारको क्षेत्रमा प्रभावकारी काम हुने गरी आवश्यक नियमावलीको व्यवस्था गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो ।