जनता टाइम्स

१ जेष्ठ २०८३, शुक्रबार ०७:४०

 डहु माविको कथा : जहाँ सपनाले अभावलाई जित्यो


नवराज पथिक

रामेछाप, जेठ १। बिहानको चिसो हावा । डाँडामाथिबाट बिस्तारै फैलिँदै गरेको घामको उज्यालो । गाउँको बिचमा बज्ने विद्यालयको घण्टी ।

वरिपरि ढुङ्गा–माटाका घर । गाउँसम्म आइपुगेको जेनतेनको कच्ची सडक । पहिलो नजरमा कसैले सोच्न पनि सक्दैन-यही गाउँभित्र एउटा यस्तो विद्यालय छ, जसले अहिले देशभरका अभिभावक, विद्यार्थी र शिक्षकलाई आश्चर्यचकित बनाइरहेको छ ।

रामेछापको सुनापति गाउँपालिका–४, बेथानस्थित श्री डहु माध्यमिक विद्यालय अहिले केवल एउटा विद्यालय रहेन, ग्रामीण नेपालको सम्भावनाको प्रतीक बनेको छ ।

किनकि यही सरकारी विद्यालयले लगातार लाेभलाग्दाे सफलता प्राप्त गरेकाे छ । यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ११ जना विद्यार्थीलाई ४ जिपिए दिलाएर देशभर चर्चा कमाएको छ ।
६६ जना विद्यार्थी सहभागी भएको परीक्षामा ११ जनाले ४ जिपिए ल्याउनु सामान्य उपलब्धि होइन । त्यो पनि कुनै ठूला सहरको महँगो निजी विद्यालयले होइन, एउटा गाउँको सामुदायिक विद्यालयले ।

यो नतिजाले केवल अंकको सफलता दिएको छैन, उसले एउटा पुरानो सोच भत्काइदिएको छ कि ‘राम्रो शिक्षा सहरमा मात्रै हुन्छ ।’

जहाँ कहिल्यै ठूलो सपना देखिएको थिएन

डहु माविको कथा कुनै सुविधा सम्पन्न विद्यालयको कथा होइन । यो अभावसँग जुधेर उभिएको संघर्षको कथा हो ।

एक समय यस्तो थियो, जब गाउँका धेरै अभिभावक आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन हिच्किचाउँथे । सरकारी विद्यालय भनेपछि कमजोर पढाइ, अनुशासनहीनता र भविष्यप्रतिको अन्योल जोडिन्थ्यो ।

‘छोरा–छोरीको भविष्य बिग्रिन्छ’ भन्ने डरले धेरै अभिभावक ऋण गरेर भए पनि सहर पठाउन खोज्थे । गाउँका विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै थियो । विश्वास हराउँदै थियो ।

त्यही समय डहु माविले एउटा फरक निर्णय गर्‍यो- ‘गाउँमै बसेर पनि उत्कृष्ट शिक्षा दिन सक्छौँ ।’

त्यो निर्णय सजिलो थिएन । किनकि विद्यालयसँग न पर्याप्त भवन थियो, न स्रोत–साधन । न त ठूला आर्थिक सहयोग नै । तर विद्यालयसँग एउटा कुरा थियो-प्रतिबद्धता ।

प्रधानाध्यापक, जसले जीवन नै विद्यालयलाई दिए

यो परिवर्तनको केन्द्रमा हुनुहुन्छ-  विद्यालयका प्रधानाध्यापक दलबहादुर बल । डहु माविको सफलताको चर्चा गर्दा स्थानीयहरू सबैभन्दा पहिले उहाँकै नाम आउँछ। किनकि उहाँले यो विद्यालयलाई केवल जागिरको ठाउँ मान्न भएन, जीवनको उद्देश्य बनाइदिनुभयाे ।

गाउँमै घर भए पनि उहाँ महिनामा मुस्किलले एक–दुई पटक मात्रै घर पुग्न भ्याउनुहुन्छ । बिहानदेखि बेलुकासम्म विद्यालयमा व्यस्त । बिहानदेखि र रातिसम्म विद्यार्थी तथा शिक्षकसँग योजना बनाउने उहाँको दैनिकी बनेको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक हिरालाल मोक्तान र अन्य शिक्षकहरूले पनि त्यत्तिकै मेहनत गर्नु भएकाे छ ।

कसैले बिहान ६ बजे नै अतिरिक्त कक्षा लिन्छन् । कसैले बेलुका अबेरसम्म विद्यार्थीको होमवर्क जाँच्छन् । कसैले बिदाको दिनसमेत विद्यालयमै बिताएका छन् । दैनिक विद्यार्थीसँग हाेष्टलमा नै कम्तिमा एक जना शिक्षक पालै पालाे सुत्छन् ।

बलका लागि विद्यालय केवल कार्यालय थिएन, सपना थियो । प्रधानाध्यापक बल भावुक हुँदै भन्नुहुन्छ, ‘हामीले सुविधा खोजेनौँ, जिम्मेवारी रोज्यौँ,  शिक्षकले चाह्यो भने सरकारी विद्यालय पनि देशकै उत्कृष्ट बन्न सक्छ भन्ने विश्वासका साथ काम गर्‍यौँ ।’

बिहानदेखि साँझसम्म पढाइ

डहु माविले पढाइलाई केवल किताबभित्र सीमित राखेन । विद्यालयले अनुशासन, व्यवहार र आत्मविश्वासलाई पनि उत्तिकै महत्त्व दियो ।

बिहान साढे ६ बजेदेखि सुरु हुने कक्षा साँझ ६ बजेसम्म चल्न थाल्छ । अतिरिक्त कक्षा, समूह अध्ययन, खेलकुद, नृत्य, सांस्कृतिक कार्यक्रम, भाषण कला-सबैलाई पढाइको हिस्सा बनाइयो ।

विद्यालय परिसरमा नयाँ ऊर्जा थपियो । जीर्ण भवनहरू सुधारिए । मागेरै भए पनि नयाँ संरचना निर्माण भए । छात्रावास बनाइयो ।
विद्यालय परिसरमा फूलबारी बनाइयो । त्यो विद्यालय बिस्तारै गाउँकै सबैभन्दा सुन्दर स्थान बन्न थाल्यो ।

फूलहरूले सजिएको विद्यालय परिसरमा रमाउँदै हिँड्ने विद्यार्थीहरू देख्दा धेरै अभिभावकका मन पुलकित हुन्छन् । किनकि उनीहरूले पहिलोपटक आफ्ना छोराछोरी सरकारी विद्यालयमा खुसी देख्छन् ।

निःशुल्क शिक्षा, तर सपना ठूलो

डहु माविको अर्को विशेषता यसको सामाजिक दृष्टिकोण हो । यहाँ नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ ।

अनुशासनमा कुनै सम्झौता हुँदैन । शिक्षक, विद्यार्थी र अभिभावकबीच निरन्तर संवाद हुन्छ ।

तर सबैभन्दा प्रेरणादायी कुरा के छ भने-स्थानीय विद्यार्थीका लागि अध्ययन निःशुल्क छ । गाउँका आर्थिक रूपमा कमजोर परिवारका छोराछोरी पैसाकै कारण पढाइबाट वञ्चित नहून् भन्ने सोचले विद्यालयले यस्तो व्यवस्था गरेको हो ।

बाहिरबाट आउने विद्यार्थीका लागि आवासीय सुविधा छ । कक्षा ११ र १२ का विद्यार्थीलाई बस्ने र खाने व्यवस्था समेत निःशुल्क गरिएको छ ।

शिक्षालाई व्यापार होइन, सामाजिक उत्तरदायित्वका रूपमा हेर्ने यही दृष्टिकोणले डहु माविलाई फरक बनाएको छ ।

अहिले देशभरबाट विद्यार्थी आउँछन्

कुनै समय गाउँका विद्यार्थी सहर जान्थे । आज अवस्था उल्टिएको छ । अहिले डहु माविमा ३० जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । काभ्रे, दोलखा, सिन्धुली, झापा, रौतहट, बझाङ, बैतडीदेखि सुर्खेतसम्मका विद्यार्थी बेथान पुगिरहेका छन् ।

विद्यालयमा अहिले ६ सय विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ३६० जना आवासीय रूपमा बस्छन् ।

विद्यालयमा भर्नाका लागि यति धेरै चाप छ कि अहिले प्रवेश परीक्षा नै लिनुपर्ने अवस्था आएको छ । यो दृश्यले गाउँलेहरूलाई मात्रै होइन, शिक्षा क्षेत्रलाई नै अचम्मित बनाएको छ । किनकि जुन गाउँबाट कहिल्यै विद्यार्थी सहर पठाइन्थ्यो, अहिले त्यही गाउँमा सहरका विद्यार्थी भविष्य खोज्दै पुगिरहेका छन् ।

११ जनाकाे ४ जिपिए : गाउँमा उत्सवझैँ खुसी

एसइईको नतिजा सार्वजनिक भएको दिन बेथान गाउँमा उत्सवजस्तै माहोल थियो । विद्यालयमा फोन आउने क्रम रोकिएन ।

अभिभावकहरू खुसीले विद्यालय पुगे । विद्यार्थीहरू एक–अर्कालाई अँगालो हाल्दै रमाए । शिक्षक, विद्यार्थी र अभिभावकको आँखामा खुसीको आँसु थियो । किनकि यो सफलता एक दिनको थिएन । यो वर्षौँको मेहनत, त्याग र विश्वासको परिणाम थियो ।

४ जिपिए ल्याउने विद्यार्थीका परिवार धेरैजसो सामान्य किसान परिवार हुन् । कतिपय अभिभावकले जीवनभर दुःख गरेर छोराछोरी पढाएका थिए । त्यही परिवारका सन्तानले आज देशभर उदाहरण बनेर देखाइदिएका छन्

डहु माविले दिएको ठूलो सन्देश

डहु माविको सफलता केवल ११ जना विद्यार्थीले ४ जिपिए ल्याउनुमा सीमित छैन । यसले एउटा गहिरो सन्देश दिएको छ- यदि नेतृत्व इमानदार भयो, शिक्षक समर्पित भए, अभिभावक जिम्मेवार बने र विद्यार्थी मेहनती भए भने सरकारी विद्यालयले पनि चमत्कार गर्न सक्छन् ।

यो कथा केवल एउटा विद्यालयको होइन । यो ग्रामीण नेपालको सम्भावनाको कथा हो ।
यो सरकारी विद्यालयमाथि हराउँदै गएको विश्वास पुनर्जीवित भएको कथा हो । यो अभावमाथि सपनाले जित हासिल गरेको कथा हो ।

सायद यही कारण अहिले धेरै अभिभावक आफ्ना छोराछोरीलाई डहु माविमा पढाउन चाहन्छन् । किनकि डहु माविले केवल पढाइ गराइरहेको छैन, उसले एउटा विश्वास सिकाइरहेको छ- ‘ठूलो सपना देख्नका लागि सहर पुग्नै पर्दैन ।’