जनता टाइम्स

३० मंसिर २०७६, सोमबार ०८:४५

बस दुर्घटनामा ज्यान गुमाएका १५ जनाकै सनाखत, चालकको जबर्जस्तीले दुर्घटना


सिन्धुपाल्चोक,  ३० , मंसिर   । बस घ्याच्चघ्याच्च गर्दै गुड्दै थियो । यात्रु भन्दै थिए– बरु रोकौं र हेरौं । लामोसाँघु–जिरी सडकको स्वाँरा मोडमा आइपुगेपछि चालकले बसको स्टेरिङ नियन्त्रण गर्न सकेनन् । एक्कासि ह्वास्स गन्ध आयो । अनि ब्रेकबाट धूवाँ पनि । यात्रुले फेरि पनि कराए– ब्रेक गनायो । रोक्नुस् रोक्नुस् । तर त्यतिन्जेलसम्ममा बसले सडक छाडिसकेको थियो । दुर्घटनामा ज्यान गुमाएका मध्ये दोलखाको शैलुङेश्वरी गाउँपालिका फस्कुका चिनु बस्नेत, रामेछापका सुनपानी गाउँपालिका ६ की जुनुमाया तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० की सुनिता तामाङको परिचय खुलेसँगै १५ जनाकै सनाखत भएको सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक प्रज्वल महर्जन (एसपी) ले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ याङलाकोटका २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ छन् ।

त्यस्तै दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत, भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसी

दुर्घटनामा ज्यान गुमाएका मध्ये १२ जनाको हिजो नै सनाखत भएको थियो । दोलखाको कालिञ्चोक तीर्थ यात्रामा गएर फर्केको गाडी आइतबार दुर्घटना हुँदा १५ जनाको ज्यान जानुका साथै १९ जना घाइते भएका थिए ।

घाइतेको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सडक दुर्घटना कम गर्न प्रयास नहुँदा र दुर्घटनालाई खेलाँची ठानिँदा दुर्घटना बढिरहेका छन् ।