काठमाडौं,२९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री न्गुएन जुवान फुकबीच हनोइस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली प्रिसिडेन्सियल हाउस पुग्नुहुँदा भियतनामी प्रधानमन्त्रीले स्वागत गर्नुभएको थियो भने भियतनामी सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । उहाँहरुबीच समसामयिक राजनीतिक अवस्था तथा विकास र समृद्धिका विविध आयामबारे छलफल भएको थियो ।
द्विपक्षीय विषय र चासो तथा क्षेत्रीयस्तरका विषयमा पनि उहाँहरुबीच छलफल भएको नेपाली प्रतिनिधिमण्डलका सदस्य थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले जानकारी दिनुभयो । आगामी वर्ष २०२० मा हुने नेपाल भ्रमण वर्षमा नेपालले वैशाख दिवस आयोजना गर्ने जानकारी दिँदै प्रधानमन्त्री ओलीले ‘लुम्बिनी परियोजना निर्माण गरौँ’ भन्ने कार्यक्रममा हातेमालो गर्न भियतनामसँग आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भियतनामी प्रधानमन्त्रीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निम्तो पनि दिनुभएको छ ।
दुई प्रधानमन्त्रीले कूटनीतिक र सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुट दिने सम्झौता, दुई सरकारबीचको द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्र र व्यापार एवं लगानी ढाँचा सहमतिको आशयपत्रबारे पनि छलफल गर्नुभएको बताइएको छ । सो अवसरमा भियतनामी प्रधानमन्त्री फुकले दुई देशबीच कृषि र पर्यटन क्षेत्रमा सहयोग वृद्धिबारे आफ्ना धारणा राख्नुभएको भियतनामी अधिकारीले जनाएका छन् । उहाँले आफू नेपालको समग्र विकासका लागि सहयोग गर्न इच्छुक भएको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीका साथ नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा भियतनामी सरकारका तर्फबाट मन्त्री, उपमन्त्री र उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य र भियतनामी प्रधानमन्त्री फुककी पत्नी ट्रान न्गुयट थुबीच पनि छुट्टै भेटघाट भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्